हुम्ला । संसारकै दुर्लभ वन्यजन्तु वनचौँरी हुम्लाको लिमीमा देखिन थालेका छन् । लिमीका फाँटमा माथिमाथि गएर खोज्दा पनि आक्कलझुक्कल देखिने वन चौँरी अहिले पछिल्लो समय घरपालुवा चौँरीसँगै चर्न थालेको नाम्खा–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

हुम्लामा लामो समयदेखि विभिन्न अनुसन्धाताहरूले विश्वकै दुर्लभ प्रजाति मानिएको वन चौँरीको अनुसन्धान गरिरहेका छन् । ती अनुसन्धानहरूले ५५ वर्षपछि लिमीमा सन् २०१४ मा १, २०१९ मा १, २०२२ मा ५ र २०२३ को जुनसम्ममा २ वटा वन चौँरी देखिएको उल्लेख गरेका छन् ।
यस्तै चुवाखोलामा सन् २०१४ मा ३ वटा वन चौँरी देखिएका थिए । तीमध्ये २०१४ मा चुवाखोलामा देखिएका ३ वटा र २०२० मा लिमीमा एउटा गरी ४ वटा वन चौँरीलाई सिकारीहरूले मारेको विभिन्न अनुसन्धानकर्ताले २०१४ यता गरेको अध्ययनले देखाएको २०२१ पछि हुम्लामा पाइने वन्यजन्तुको अध्ययन र अनुसन्धानमा लागेका सीमकोट १ दोजामका स्थानीय अभिनाश लामाले बताए ।


विगतमा टाढाटाढा गएपछि मात्र कहिलेकाहिँ देखिने वन चौँरी अहिले घरपालुवा चौँरीसँगै चरेको देख्न सकिन्छ । पहिला चोरी सिकारीहरूले लखेटिलखेटी मार्ने गरेकाले मान्छे देख्नेबित्तिकै भाग्ने गरे पनि पछिल्लो समय वन्यजन्तुको शिकार गर्न प्रतिबन्ध लगाइएपछि वन चौँरीको संख्या बढेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए । बथानै नआए पनि १, २ वटा चौँरी भने सधैँ आफूले पालेका चौँरीसँग आउने गरेको उनले बताए ।
हिमाली भेगमा पाइने विभिन्न प्रजातिका वन्यजन्तुको चोरी सिकार बढेपछि नाम्खा गाउँपालिका पूरै र सिमकोट १ को चुवाखोला क्षेत्रमा सिकार गर्न प्रतिबन्ध लगाएपछि केहि हदसम्म वन्यजन्तुको संरक्षण भएको र पछिल्लो समयमा चोरीसिकार गरेको पनि नपाइएको डिभिजन वन कार्यालयका रेन्जर एवं योजना अधिकृत लोकजंग शाहीले बताए ।

नेपाल कर्म । ६ असार २०८०, बुधबार १७:४७