बालबालिकालाई विद्यालय नगएका बालबालिको हित बोल्न मुख्यमन्त्री कँडेलको सुझाव

सुर्खेत । विद्यालय बाहिर रहेका बालबालिकाको हितमा आवाज उठाउन बालबालिकालाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुझाव दिएका छन् । कर्णाली प्रदेशका दश वटै जिल्लाबाट प्रतिनिधित्व गर्दे आएका बालबालिकाहरुसँग साक्षात्कार गर्दे मुख्यमन्त्री कँडेलले आफनो मात्र नभएर विद्यालय जान नपाएका बालबालिकाहरुको सवाललाई उठाउन उनीहरुलाई आग्रह गरेका हुन् ।



विद्यालय जान नपाएका बालबालिकाहरुको बारेमा घर छिमेकमै रहेका बालबालिकाहरु नै बढी जानकार हुने भएको हुँदा उनीहरुलाई विद्यालय पठाउन प्रेरित गर्ने काममा सहयोगी समूह बनाएर लाग्न मुख्यमन्त्री कँडेलले सुझाव दिए । ‘तपाईहरु कै घरछिमेकका बालबालिकाहरु अझै विद्यालय बाहिर छन,’ उनले भने,‘उनीहरुलाई प्रेरित गर्नुहोला ।’

समाजमा देखिएको हानिकारक कुरिती अन्त्य गर्न बालबालिकाको भूमिका महत्वपूर्ण हुने पनि मुख्यमन्त्री कँडेलले बालबालिकालाई सुझाव दिए । हानिकारक कुरिति जन्मिने घरबाट भएकोले आफ्नो घरमा त्यस्तो कुरिति जन्मन नदिन अभिभावकलाई सचेत गराउनुपर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

मुख्यमन्त्री कँडेलले राजनीतिबारे बुझ्न तर सानै उमेरमै राजनीति नगर्न पनि बालबालिकालाई सुझाव दिए । ‘यो उमेरकै तपाईहरुलाई राजनीति गर्नुस त भन्दिन तर राजनीति गर्ने बेला बुझेर मात्र गर्नुहोला,’ उनले भने,‘राजनीति भनेको अधिकारको खोजीको यात्रा हो ।’

यसैबीच कर्णाली प्रदेश स्तरीय बाल संजालका पदाधिकारी र सदस्यहरुले आज भेटघाट गरि ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउदै संजालकी अध्यक्ष समीक्षा चौधरीले बालबालिकाहरुको उचित सवालको समयमै व्यबस्थापन गर्नुपर्ने, बालविवाह न्युनिकरण रणनीति र बालविवाहको उमेर हद २० वर्ष कायम गर्नुपर्ने, विद्यालयमा बाल संरक्षणमा ध्यान दिनुपर्ने, समाजमा रहेका हानिकारक प्रथा बालविवाह, जातिय छुवाछूत, छाउपडी प्रथा, अपांगताहरुमाथिको हिंसा न्युनिकरण गर्न कानुनसँगै व्यबहारिक रुपमा पनि पहलकदमी गर्न सरकारसँग माग गरिन् ।

तपाईको प्रतिक्रिया