सुर्खेत । सडक दुर्घटनामा मृत्यु भएका जुम्लाका कालिबहादुर बुढाका आफन्तले शव नउठाउने निर्णय गरेका छन् । जिल्ला प्रशासन र प्रहरी कार्यालयबाट असहयोग पाएको भन्दै आफन्तहरुले बुढाको शव नउठाउने निर्णय गरेका हुन् ।

आन्दोलन समितिका संयोजक छत्रबहादुर शाहीले प्रहरीबाट जुम्ली जनातामाथि अपमानजनक व्यवहार गरेकाले तत्काल वार्तामा सहभागी नहुने र शव पनि नउठाउने नेपालकर्मलाई जानकारी दिए ।

‘घटनापछि प्रशासन र प्रहरीबाट पाउनुपर्ने सहयोग पाएनौं,’ शाहीले भने, ‘यातायात व्यवसायी समितिको पक्षमा पक्षपोषण गर्ने खालका व्यवहारले पीडित परिवारले शव बुझ्दैनौं ।’
पीडित परिवारलाई न्याय दिलाउन सुर्खेत झरेका सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले घटना भएको दिन वास्तविक चालकभन्दा अर्कैले गाडी चलाएका कारण दुःखद् घटना भएको आशंका गर्ने ठाउँहरु भेटिएको बताए ।

‘चालकको पहिचान गरेर हदैसम्मको कारवाही गर्न प्रशासन जवसम्म तयार हुँदैन त्यो बेलासम्म हामी वार्तामा सहभागी हुँदैनौं,’ धितालले भने, ‘वास्तविक चालकको पहिचान गरेर कर्तव्य ज्यान मुद्दा दर्ता नहुँदासम्म शव बुझ्दैनौं ।’
पीडित परिवारको यथोचित माग सम्बोन्धन गर्नमा प्रशासनको भूमिकामा विश्वास गर्ने ठाउँ नरहेको धिताल बताउँछन् । ‘पीडित परिवारको सुरक्षाको जिम्मेवारी राज्यले लिनुपर्छ,’ उनी भन्छन्, ‘माग सम्बोन्धन नहुँदासम्म शव उठाउँदैनौं र त्यसको सबै जिम्मेवारी प्रशासन र प्रहरीले लिनुपर्छ ।’
वीरेन्द्रनगर नगरपालिका–२ रेडियो नेपाल नजिकै फोरलेन सडकमा बाँगेशीमलबाट बसपार्क जाँदै गरेको फोर्स गाडीले आइतबार बिहान ठक्कर दिँदा बुढाको मृत्यु भएको थियो ।
घटना लगत्तै प्रहरीले चामुण्डाविन्द्रासैनी नगरपालिका–१ का २३ वर्षीय चालक तेजबहादुर थानी मगर र ठक्कर दिने कर्णाली प्रदेश ०२(००१ ख। ०९१५ नम्बरको फोर्स गाडीले ठक्कर दिएको हो ।

नेपाल कर्म । १० बैशाख २०८२, बुधबार ०९:५८