जाजरकोटमा पेट्रोल पम्प सञ्चालन

जाजरकोट । जाजरकोटमा पहिलो पटक औपचारिक रूपमा पेट्रोल पम्प सञ्चालनमा आएको छ । भेरी नगरपालिका–४ को बोहोरा गाउँमा ‘मुक्ति बस्नेत सप्लायर्स’ले पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो ।



यसअघि जिल्लामा पेट्रोल पम्प नहुँदा स्थानीयले ड्रम र जर्किनबाट तेल खरिद गर्दै आएका थिए । अब भने नियमित, सुरक्षित र शुद्ध इन्धनको आपूर्ति हुने आशा गरिएको छ ।

मंगलबार बिहान आयोजित उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले पेट्रोल पम्प उद्घाटन गरे । उनले पेट्रोल पम्प नहुँदा स्थानीयवासी तथा कार्यालयहरूलाई ठूलो समस्या हुने गरेको उल्लेख गर्दै अब सहज आपूर्ति हुने विश्वास व्यक्त गरे ।

“शुद्धता कायम हुनुका साथै अब उपभोक्ताले महँगो तिर्नुपर्ने बाध्यताबाट मुक्ति पाउनेछन्,” खत्रीले भने ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जिल्लामै पहिलो पटक नेपाल आयल निगमअन्तर्गतको पेट्रोल पम्प सञ्चालनमा आउनु सुखद पक्ष भएको बताए ।

“सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बैंकजस्ता संस्थाहरूको सवारी साधन चलाउन सहजता आउनेछ,” प्रजिअ मग्रातीले बताए । यातायात व्यवसायी भीमबहादुर बुढाले पेट्रोल पम्प सञ्चालनसँगै अब सवारी साधनमा तेल भर्न सहज हुने प्रतिक्रिया दिएका छन् ।

पम्प सञ्चालक बीरबहादुर बस्नेतले दस वर्षअघिदेखि सुरु गरेको प्रयास अहिले आएर सफल भएकोमा खुसी व्यक्त गरे । “सबैको सहयोग र साथले आज यो सम्भव भएको हो,” उनले भने ।

तपाईको प्रतिक्रिया