
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कारणले नभई संघीय सरकारकै कारण भएको बताएका छन । खेलकुद क्षेत्रसँग सम्बन्धित संघ र प्रशिक्षकहरुसँगको शुक्रबार भएको भेटघाट कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको बताए ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३ गतेदेखि १० गतेसम्म कर्णालीमा आयोजना हुने तय भएको थियो ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पटक–पटक मिति सार्दासमेत आफूले खेल सुनिश्चित हुने गरि काम गर्न संघीय खेलकुद मन्त्रालयलाई सुझाब दिएको मुख्यमन्त्री कँडेलले बताए । ‘प्रतियोगिता गर्ने भन्ने तर, प्रतियोगिताको लागि आवश्यक तयारीका सम्बन्धमा अलमल गर्ने खेलकुद मन्त्रालयको समस्या आफूले अनुभव छु,’ उनले भने,‘पछिल्लो समय प्रतियोगिताको लागि सुर्खेतमा सचिवालय स्थापना भएपनि देखिने गरि काम भएन् ।’

खेलकुद प्रतियोगिता कर्णाली हुने भएपनि त्यसको मुख्य आयोजक संघीय सरकार भएकोले पूर्वाधारमा प्रदेशलाई सहयोग गरिएको आग्रहको समेत सुनुवाई नभएको मुख्यमन्त्री कँडेलले जानकारी दिए । ‘विगतमा अन्यन्त्र आयोजना गरिएका राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारमा लागि करोडौ खर्च गर्ने संघीय सरकारले कर्णाली प्रदेशमा निर्माण हुने पूर्वाधारमा पनि लगानी गर्नुपथ्र्यो,’ उनले भने,‘तर पूर्वाधारमा कुनै पनि लगानी भएन ।’

मुख्यमन्त्री कडेलले प्रदेश दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेश सरकारबाट कुनै कमि हुन नदिने पनि जानकारी दिए । ‘आयोजक केन्द्र भएपनि कर्णालीको भविष्यसँग जोडिएको प्रतियोगिता सम्पन्न गर्न प्रदेश सरकारको तर्फबाट पुरै सहयोग र सहकार्य हुन्छ,’ उनले भने ।
एक अर्को प्रसङगमा मुख्यमन्त्री कडेलले प्रदेश रंगशालाको काम सकेर हन्तान्त्रण भएको दिन भुक्तानीको लागि कुनै समस्या नहुने बताए । ‘निर्माण कम्पनीले कतिबेला १ प्रतिशत काम बाँकी छ भन्ने कतिबेला सम्पन्न भयो भन्ने खालका कुरा गरिरहेको छ तर रंगशाला हस्तान्त्रण भएको छैन्,’ उनले भने,‘काम सम्पन्न भएर हस्तान्त्रण भयो भने बाँकी रकम दिन प्रदेश सरकार तयार छ । हामीलाई कुनै समस्या छैन । ’
नेपाल कर्म । ५ बैशाख २०८२, शुक्रबार १६:२०