
सुर्खेत- एमालेका पोलिटब्युरो सदस्य एवं दैलेख जिल्ला इञ्चार्ज लक्ष्मीप्रसाद पोखरेलले पार्टी महासचिव शंकर पोखरेलले दिएको अभिव्यक्तिको बचाउ गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले गणतन्त्रका कारण कर्णालीका जनताले भात खान पाएको टिप्पणी अनावश्यक ट्रोल गरिएको बताए ।

एमाले महासचिव पोखरेलले चैत २६ गते सुर्खेतमा आयोजित जनजागरण सभामा राजतन्त्र र गणतन्त्रमा कर्णालीको जनताको अवस्थाबारे चित्रण गर्ने क्रममा यस्तो बताएका थिए ।
महासचिवको अभिव्यक्तिको आलोचना भइरहँदा नेता पोखरेलले दुल्लूको खाद्य डिपो स्थापनाको प्रसंग निकाल्दै कर्णालीको वर्तमान अवस्था प्रकाश पारे ।

उनले फेसबुकमा लेखेका छन्, “निरंकुश पञ्चायती राजतन्त्रमा दैलेखका राष्ट्रिय पन्चायत सदस्य माननीय केशवबहादुर शाह थिए । उनले दुल्लुमा खाद्य डिपो स्थापन गरे ।
जनताले उनको जयजयकार गरे, जिन्दावादको नारा लगाए । प्रधानपन्चको सिफारिसमा हप्ताको एकपटक परिवार हेरी ३ देखि ५ किलो चामल बाँडिन्थ्यो ।
चामल जम्मा गरेर ठुला चाडबाड मनाइथ्यो । अहिले भात खानलाई कुनै चाडबाड कुर्नु पर्दैन । गाउँ गाउँमा बाटो घरघरमा सुविधा पुगेको छ । यो हाम्रो कर्णालीको वर्तमान होइन र?”
नेपाल कर्म । ३ बैशाख २०८२, बुधबार २०:०५