विजौरामा सडक निर्माणमा रोक, मदन भण्डारीले हात झिक्दै

सुर्खेत। सुर्खेत पश्चिमका नागरिकहरु सडक सुविधाबाट बञ्चित छन् । बडड्डीचौर–विद्यापुर–विजौराहुँदै लगाम सडक वर्षौंदेखि कालोपत्रे नहुँदा यहाँका नागरिकहरुले सास्तीको यात्रा गर्नुपर्ने बाध्यता छ । सडकको असहजताले निकै सास्ती र पीडादायी यात्रा गर्नुपर्ने बाध्यताको अन्त्यका लागि मदन भण्डारी राजमार्ग नामाकरणपछि निर्माण थालिएको हो ।



२०५१ सालमै ट्र्याक खोलिएको सडक झण्डै २९ वर्षपछि राष्ट्रिय राजमार्गको मान्यता पाएर निर्माणहुँदा सुर्खेत पश्चिममा विवाद देखिएको छ । १८ फागनु २०७९ देखि विद्यापुर–गुटु–विजौरा–बल्दे सडक निर्माण थालिएको हो ।

तिव्र गतिमा निर्माण भइरहेको सडक अहिले कालोपत्रे भइरहेको छ । सुर्खेतको लाइफलाइन राजमार्ग मदन भण्डारीको दोस्रो प्याकेजमा २२ किलोमिटर सडक निर्माणकै चरणमा छ ।

गुटु–बल्दे खण्डको विजौरामा स्थानीय अवरोधका कारण अन्तत मदन भण्डारी राजमार्ग योजना कार्यालयले हात झिक्ने तयारी गरेको हो । विजौराको अस्पताल चौकदेखि विजौरा बजारहुँदै डुङ खोलासम्मको झण्डै १५ सय मिटरमा विवाद छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा अस्पताल चौक–विजौरा बजारहुँदै सडक डुङ खोला जोड्ने उल्लेख छ ।

डिपिआर निर्माणको क्रममा कुनै अवरोध नगरेका स्थानीयले अहिले सडक निर्माणको क्रममा बखेडा झिक्दा विजौरा क्षेत्रको काम नहुने लगभग निश्चित भएको हो ।

डिपिआर अनुसार सडक निर्माण गर्ने हो भने चौकुने गाउँपालिका–४ मा पर्ने विजौरा बजार विस्थापित गर्नुपर्छ । बजारसँगै केही व्यक्तिको जग्गासमेत सडकमा पर्ने भएपछि स्थानीयले अवरोध गरेका हुन् ।

चौकुने गाउँपालिका–४ का वडाध्यक्ष टोपबहादुर विसीकोसमेतकाे जग्गा सडक निर्माण गर्दा उठिबास हुने अवस्था छ । ‘म आफै जनप्रतिनिधि छु । डिपिआर भएकै ठाउँबाट सडक बनाउने हो भने मेरो झण्डै आठ रोपनी जग्गाको माया मार्नुपर्छ,’ वडाध्यक्ष विसी भन्छन्, ‘वर्षौंपछि राजमार्गले निर्माण गति लिएको छ । राजमार्ग बन्नै हुँदैन भन्ने मान्यता मेरो हैन् । उठिबास हुनेगरी विस्थापित गर्नु भएन बरु राजमार्ग घुमाएर लगौं भन्ने मेरो र अन्य प्रभावित क्षेत्रका नागरिकको भनाई हो ।’

अस्पताल चौकदेखि विजौरा बजारहुँदै सडक डुङ खोला लिनेगरी यसअघि नै डिपिआर बनेको छ । कार्यालयले डिपिआरअनुसार नै सडक निर्माण गर्नुपर्ने र राष्ट्रिय राजमार्ग घुमाउनुभन्दा जतिसक्यो छोटो मार्ग हुनेगरी निर्माण हुनुपर्ने बताउदै आएको छ ।

सडक घुमाएर लैजाँदा वडाध्यक्षसहितको जग्गा र विजौरा बजार विस्थापित हुँदैन् । बजार क्षेत्रबाटै सडक लैजाने हो भने झण्डै दुई दर्जन घरहरु विस्थापित हुने अवस्था छ । सडक घुमाएर लैजाँदा अस्पतालबाट किनारा किनारै विजौरा स्कुलको दक्षिणबाट डुङ खोला पुर्याउनु पर्ने तर्क स्थानीयको छ ।

तर स्थानीयकाे मत नै विभाजित छ । जग्गा पर्नेले सडक घुमाउनु पर्ने भनिरहेका छन् । अन्यले बजार भएरै सडक निर्माण गर्नुपर्ने बताउने गरेका छन् ।

विजौरा बजारदेखि पूर्वी क्षेत्रको खेती योग्य जमिनकाे किनारा किनारै सडक विजौरा स्कुल अगाडीबाट बजारमा निस्किन्छ । जुन पुरानाे सडक हाे । विजौरा बजारदेखि पूर्वी–उत्तरबाट बगेर आउने पानीको निकाश हुने खोलाका कारण स्थायी सडक बनाउन नसकिँदा सहमतिमा व्यक्तिगत जग्गाबाट अस्थायी सडक दिएको वडाध्यक्ष विसी बताउँछन ।

‘अहिले सञ्चालनमा रहेको सडक स्थायी हैन्,’ वडाध्यक्ष विसी भन्छन्, ‘२०६७ सालमा सर्वदलिय बैठकले विजौरा बजारमा ढुवानीका सामान लैजान समस्या भएपछि अस्थायी प्रकृतिका रुपमा सडक आठ मिटर खोलिएको हो ।’

डिपिआर गर्ने समयमा किन विषय उठान गर्नु भएन भन्ने प्रश्नमा वडाध्यक्षले विसी भन्छन्, ‘त्याे बेला केही चुक भयाे, तर सडकका विषयमा डिपिआर गर्न आउने टाेली समक्ष कुरा राखिएकाे हाे, माथिबाटै डिपिआर भएछ ।’

विवाद देखिएकाे क्षेत्रमा काम नगराैं तर अस्पताल अगाडीसम्म सडक विस्तार गराैं भन्दा वडाध्यक्ष विसीले नै विजाैरा डाँडादेखि तल सडक निर्माण गर्न दिएका छैनन् ।

‘अस्पतालसम्म सडक ल्याउँदा भाेली हामी प्रभावित क्षेत्रबाटै सडक जान्छ, त्यसैले अहिले सडक डाँडामै राेकिएकाे सत्य हाे,’ विसीले थपे, ‘विवाद सल्टाएर अघि बढ्न र दवाव दिनकै लागि विजाैरा डाँडादेखि तल सडक निर्माण नगराैं भनेकाे हुँ ।’

सडक निर्माणमा भइरहेको अवरोह सल्टाउन स्थानीय र कार्यालयविच पटक पटक छलफल गराउँदा पनि निकास निकाल्न नसकिएको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक बताउँछन् ।

‘विगतमा डिपिआर बजारहुँदै गरियो, त्यो बेला नै स्थानीयले अवरोध गर्नुभएन्,’ अध्यक्ष विकले भने, ‘सडक बन्छ की बन्दैन् भन्ने अन्यौलतामै रहेर डिपिआर गर्न दिएजस्तो लाग्छ । अहिले पश्चिमबासीका लागि लाइफलाइन राजमार्ग बनिरहँँदा विवाद सल्टाउनमा चुनौती थपियो ।’

स्थानीयले घुमाएर लैजान भनिएको विजौरा स्कुलदेखि आउने सडक निर्माणगर्दा झण्डै दुई किलोमिटर लामो हो । बजार क्षेत्रबाट लैजाँदा १५ सय मिटरमा डुङ खोला जोडिन्छ ।

‘विवाद समाधानका लागि पटक–पटक गाउँपालिका, स्थानीय र माननीयसहितको छलफल गरिसकिएको छ,’ मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका ईन्जिनियर रेशम वली भन्छन्, ‘कुनै पनि अवस्थामा समस्या समाधान नभएपछि यो खण्डको काम नगर्ने मोडमा कार्यालयमा पुगेको छ ।’

राजमार्गको डिपिआर बाहेक अनेत्रबाट सडक लैजाँन नसकिने भनाई ईन्जिनियर वलीको छ । स्थानीयको अवरोध कायमै रहे विजौरा क्षेत्रको विवाद त्यत्तिकै छाडेर बाँकी सडक कालोपत्रे गर्न लागेको उनले बताए ।

अहिले विजौराको डुङ खोलादेखि बल्दे र विजौरा डाँडादेखि विद्यापुर डाँडासम्मको २२ किलोमिटरमध्य १७ किलोमिटर सडक असारसम्म कालोपत्रे गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

बाँकी कुनै भव्यतव्य र अवरोध नभए कार्तिकसम्म दोस्रो खण्डको काम सक्ने तयारीमा कार्यालय छ । सुर्खेत पश्चिमको बड्डीचौरबाट मदन भण्डारी राजमार्ग लगाम जोडिन्छ ।

यो खण्डमा राजमार्गको दुरी ८५ किलोमिटर छ । विद्यापुर–बल्दे खण्डको सडक निर्माणको लागत एक अर्ब २१ करोड रहेको छ । बानियाँ मोतिदान डि.एस.जेभी काठमाडौंले निर्माण गरिरहेको सडक यहीँ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ ।

मदन भण्डारीले तेस्रो प्याकेज अन्तरगत चौर खोला–सालकोट–चत्तुरे चोक–दुलालथाई–विद्यापुर १० र बल्दे–लगाम १५ गरी २५ किलोमिटर सडक निर्माण जिम्मा दिवा यती जेभी काठमाडौंले पाएको छ ।

विद्यापुर-चाैर खाेला र बल्दे-लगाम खण्डकाे काम जारी छ । विद्यापुर-चाैर खाेलासम्म असारसम्म ग्राभेल गर्ने लक्ष्य निर्माण कम्पनीकाे छ ।

तपाईको प्रतिक्रिया