
सुर्खेत । २८ चैत २०८१ मा ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट अपहरणमा परेकी तीन महिने बालिका १४ घण्टामै फेला परिन् । अपहरण गर्ने चामुण्डाविन्द्रासैनी नगरपालिका–२ सिरवलकी शर्मिला विष्टसहित बालिकालाई लामिडाँडाबाट फेला पारिएको हो ।

बालिक अपहरण गर्ने १८ विष्ट जिल्ला प्रहरी कार्यालय दैलेखको नियन्त्रणमा छिन् । प्रहरीले पक्राउ गरेर अनुसन्धानका लागि २९ चैतमा दैलेख ल्याएको थियो । तर बालिका अपहरण गर्नुको कारण पत्ता लागाउन दैलेख प्रहरीलाई हम्मेहम्मे भएको छ ।

पक्राउ गरेर प्रहरी कार्यालय लगे लगत्तै विष्ट जिल्ला अस्पताल दैलेखमा भर्ना भएकी छन् । ‘वयान लिन सोधपुछ गर्दा एक्काशी ढल्ले र वेहोस् हुने गर्नुभयो,’ जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले नेपालकर्मसँग भने, ‘स्वास्थ्यमा केही जटिलता होला भनेर अस्पतालमा भर्ना गर्यौं । तीन पटक वयानका लागि प्रहरी पुग्दा उहाँ ढल्ने र बेहोसहुँदा अनुसन्धानमा समस्या भइरहेको छ ।’
केही दिन चिकित्सकको निगरानीमा राखेर मनोसामाजिक परामर्श दिएपछि वयान लिने तयारीमा रहेको सूचना अधिकारी सुनारले जानकारी दिए । घटना के कति कारणले भयो भन्ने कुनै तथ्य पत्ता लगाउन नसकिएको र केही दिनमै बयान लिएर वास्तविकता बाहिर ल्याउने उनले बताए ।
घटनाका विषयमा एकिन वयान लिनै सकिएको छैन् । अपहरणबारे बाहिर चर्चा गरिएका अनावश्यक टिकाटिप्पणि र अडकलबाजी सत्य हैनन्,’ उनले भने ।
के हो घटना ?
२८ चैत २०८१ मा बमबहादुर बुढाको घर पछाडी आगो लाग्यो । राती ९ बजेतिर एक्काशी आगो लागेको थाहा पाएपछि परिवारका सबै सदस्य आगो निभाउन पुगे । आगो निभाएपछि बुढाको परिवार घर फर्किए ।
तर सुत्ने कोठामा पुग्दा बुढाको तीन महिने छोरी श्रीया बुढा ओछ्यानमा थिइनन् । श्रेयासँगै सुतेका दाजु ओछ्यानमै थिए । ओछ्यानमा सुताएकी छोरी हराएपछि सबै चिन्तित बने । सम्भावित ठाउँहरुमा निकै खोजे तर कहीँ कतै नभेटेपछि आफन्तले प्रहरी चौकी ठाकीकाँधमा खवर गरे ।

घटना लगत्तै प्रहरीले खोजी थाल्यो तर श्रीयाको कुनै पत्तो लागेन् । घटनास्थल पुगेको प्रहरीले माथिल्लो निकायमा खवर पठाएर फर्कियो । २९ गते विहानै ओछ्यानबाटै गायव बनाएकी श्रीयाको खोजीका लागि सबैतिर हल्ला फैलियो ।
राती नै बालिका अपहरणमा परेको सूचना लिइसकेको प्रहरीले मातहतका निकायलाई खोजीमा खटायो । प्रहरी चौकी जम्बुकाँध, चाल्नेचौतारा, दुल्लु, भैरवी, पाल्तडा र तल्लो डुंगेश्वरको प्रहरीले नाकाहरुमा निगरानी राख्दै खोजी तिव्र बनायो ।
तर अपहरणमा परेकी बालिका लिएर भाग्दै गरेको अवस्थामा चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, को लामिडाँडा जङ्गलबाट प्रहरीले अन्दाजी २० वर्षीय महिलालाई नियन्त्रणमा लियो ।
जङ्गलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले सिरवल भन्ने ठाउँकी विष्ट पक्राउ परिन् । विष्टलाई नियन्त्रणमा लिँदा बालिकाको अवस्था सामान्य थियो ।
प्रारम्भीक अनुसन्धानका क्रममा विष्टले बालिकालाई घरबाट आफूले नल्याएको बताइन् । पक्राउ पर्दा उनले भनेकी थिइन्, ‘दुल्लुका तीन जना (पुरुष)ले बच्चा ल्याएका हुन्, मलाई चामुण्डाकै माथि डाँडामा दिएर उनीहरू भागेका हुन् ।’
बालिका अपहरण गर्दा खर र परालमा आफूले आगो नलगाएको पनि बताएकी थिइन् । प्रहरीले अपहरणमा परेकी बालिकाको सकुशल उद्दार गरेपछि आफन्तको जिम्मा र पक्राउ परेकी विष्टलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि दैलेख पठाएको हो ।
सुशील खड्का । २ बैशाख २०८२, मंगलवार १७:५१