सात घण्टाको फरकमा जाजरकाेटमा दुई पटक गयाे भूकम्प

जाजरकोट । सात घण्टाको फरकमा जाजरकाेटमा दुईवटा भूकम्प गएका छन्। कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति र आज बिहान गरेर दुईवटा भूकम्प गएका हुन ।



पहिलो भूकम्प गएराति (वैशाख १ गते) ९ बजेर ३१ मिनेटमा गएको थियो। भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार गएराती ४.१ म्यागनिच्युटको भुकम्प गएकाे थियो।

दोस्रो भूकम्प आज बिहान (वैशाख २ गते मंगलबार) ४ बजेर ५३ मिनेटमा गएको हाे । यो भूकम्प ४.४ म्याग्निच्युटको हाे। लगातार गएका यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

गत चैत २१ गते साँझ पनि पैँक क्षेत्रलाई नै केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएको थियो। त्यतिबेला पहिलो भूकम्प पाँच दशमलव दुई र दोस्रो भूकम्प पाँच दशमलव पाँच म्याग्निच्युडका थिए। यी दुई भूकम्पका कारण त्यो क्षेत्रमा केही घरमा सामान्य क्षतिसमेत पुगेको थियो।

पछिल्लो समय पश्चिम नेपालमा लगातार ससाना भूकम्प गइरहेका छन्। चैत २० गते दार्चुला केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस्तै चैत १२ गते हुम्ला केन्द्रबिन्दु भएर चार दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको थियो।

तपाईको प्रतिक्रिया