मेहेलीमा बाघले खायो ६० बढी पशुचौपाय

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १६ मा पर्ने मेहेली क्षेत्रमा बाघले आतंक मच्चाउन थालेको छ । पछिल्लो तीन महिनाको अवधिमा मात्रै बाघले ६० बढी पशु चौपायहरु मारेपछि स्थानीयहरु आतंकित बनेका हुन् ।




तीन दिन अगाडी मात्रै गोठमा बाधिएको गोरु मारेको वडाध्यक्ष डण्डबहादुर विकले जानकारी दिए । बाघले वडामा रहेका डाँडा खोरिया, तीनघरे, काफलगैरी, देवस्थल, लेकछडा, भित्रीगैरी लगायतका क्षेत्रमा पशुचौपायमा मार्ने गरेको उनले बताए ।

जंगलमा चराउन लगिएका बाख्राहरु जंगलमै मार्ने गरेको स्थानीय बताउँछन् । ‘खोच र जंगल क्षेत्र धेरै भएकाले बाघ देखिदैन्, तर चराउन लगिएका पशु चौपायमा क्षती पुर्याउने गरेको छ,’ वडाध्यक्ष विकले भने, ‘केही दिनको फरकमा बाघले धमाधम पशुधनमा क्षती पु¥याउन थालेपछि स्थानीय पीडामा छन् ।’

बाघको व्यवस्थापनका लागि डिभिजन वन कार्यालयसँग समन्वय गरेपनि प्रभावकारी हुन नसकेको वडा कार्यालयले जनाएको छ । बाघलाई नियन्त्रणमा लिन कठिन भुगोलका कारण समस्या भएको र एकै ठाउँ नबस्नेहुँदा स्थानीय कृषकले पालेका पशुहरु सखाप पार्ने गरेको दुःखेसो वडाध्यक्ष विकको छ ।

पछिल्लो एक वर्ष यता मेहेली क्षेत्रमा बाघ देखिने गरेको स्थानीय बताउँछन् । गोठ भित्रै बाधिएको गोरु मारेकाले बाघ सानो नभएको र स्थानीयले पाटे बाघ नै भएको बताउने गरेको वडाध्यक्षको भनाई छ । बाघले आतंक मच्चाएको क्षेत्र वीरेन्द्रनगरको १६ र लेकवेशी नगरपालिकाको ८ नम्बर वडा पर्दछ ।

तपाईको प्रतिक्रिया