
सुर्खेत । कर्णाली प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगर सुर्खेतसँग जोडिएको गाउँपालिका हो बराहताल । सदरमुकाम वीरेन्द्रनगरदेखि झण्डै २५ किलोमिटरको दुरीमा पर्छ बराहताल गाउँपालिका– वडा नं. ४ को तरंगा गाउँ ।

भेरी नदी किनारामा माथिल्लो तरंगा, तल्लो तरंगा, साझाघाट, कुटा गाउँ छन् । यीनै गाउँ भएर सिम्लेपानी, केलाडी, नरसिंकाँडा, गाइनेकाँडा, चन्द्रीबाँझ, हर्रे काँडा, सुकुरमाला, खण्टे, पटारे गाउँ पुगिन्छ ।
वर्षौंदेखि विद्युतबाट विमुख नागरिकहरुका घर घरमा उज्यालो बनाउन विद्युतको प्रशारण लाइन तीन वर्षअघि नै पु¥याइएको हो । तर यहाँका नागरिकहरुले अझैँ विद्युतको उपयोग गर्न पाएका छैनन् ।

०७८ सालमै वत्ती पु¥याउने बाचा गरेका नेताहरुले २०७९ सालको निर्वाचन जिते । निर्वाचन जितेको झण्डै तीन वर्ष बित्दा नागरिकहरु अझै साँझको समयमा अन्धकारमा छन् ।
‘नजिकै भेरीको पानी बगिरहेको छ । विद्युत नहुँदा तान्न सकिएको छैन्,’ स्थानीय रुपा कामी भन्छिन्, ‘सोलार सिस्टमबाट भेरीको पानी तान्न २०७६ साल जडान गरेर उद्घाटन भयो पानी आएन् । कम्तिमा विद्युत पुगेको भए नदीको पानी तानेर सिँचाई गर्न सकिन्थ्यो तर सुन्दर बस्ती भएपनि अभावै अभावमा दैनिकी गुजार्नु परेको छ।’
विद्युत नपुगेकै कारणले खानेपानीको समस्या भएको र सबै जग्गा सुख्खा रहेको स्थानीय ललित सुनारले बताउँछन् । ‘विजुली नहुँदा विद्यार्थीलाई पढ्न समस्या छ,’ उनले भने,‘घरमा बत्ति छैन् । विद्यालयमा टिनको पाता छाएको छ । गर्मीमा भित्र बसेर पढ्नमा समस्या छ ।’
विद्युतको सहज पहुँच नपुगेका कारण यहाँका नागरिकहरुले स्वच्छ खानेपानीको उपयोग गर्न पाएका छैनन् । निरन्तर बगिरहने भेरी नदी पानी लिफ्ट गरेर सिंचाइका गर्न पाएका छैनन् । तत्काल विद्युत पुग्ने छाटकाँट नदेखिएपछि सोलार प्यानल जडान गरिएको हो ।
भेरी नदीको पानी तानेर गाउँमा सिंचाई तथा खानेपानीको सुबिधा दिने लक्ष्य राखिएपनि उद्घाटन गरेदेखि नै बन्द छ । गाउँमा पानीको समस्या रहेकाले खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्य छन् । हिउँदमा प्रयाप्त पानी नपर्दा गहुँ, तोरी, मसुरो र चना खेती फस्टाउन नसकेको ललित बताउँछन् ।
तरंगामा विद्युत पु¥याउन हुर्केबाट बरडाँडा, कुम्भिकोटहुँदै विद्युतका पोल र तार तानिएको छ । हुर्के–कुम्भिकोट–साझघाट सडक विस्तारका क्रममा कतिपय पोल ढलेका छन् । गाउँमा कुटानी पिसानीका लागि डिजेलबाट मिल सञ्चालन गरिएको छ ।
बिजुली नहुँदा कुटानी पिसानी गर्न डिजेलबाट चल्ने मिल महंगो भएको स्थानीय बताउँछन् । गाउँमा बिजुली नभएका कारणले कुटानी पिसानी गर्दा प्रति केजी पिसेको ६ रुपैयाँ लिने गरेको स्थानीय आशाराम थापा बताउँछन् । ‘बत्ति भएको भए कुटानी पिसानी मात्रै हैन, अन्य दैनिक कामहरुमा धेरै सहजहुन्थ्यो । तर बत्ती बल्ने कहिले हो थाहै छैन्’ उनले भने ।

गाउँका हुने खानेको घरमा उज्यालोका लागि सोलार जडान गरेका छन् । कतिपय गरिव र विपन्न परिवारले उज्यालोका लागि सोलार जडान गर्न सकेका छैनन् ।
‘कसैको घरमा त सोलार पनि छैन्,’ स्थानीय पानसरा कठायत भन्छिन्,‘सोलार नभएको घरमा अध्यारोमा बस्नुपर्ने बाध्यता छ ।’ विगतमा झोरो बाल्ने, आगो बालेर उज्यालो गर्ने चलन भएपनि अहिले त्यो चलन हराउँदै गएको कडायतले बताइन् ।
‘गाउँमा पानीको समस्या त छदैँछ । बत्ति नहुँदा भेरीको पानी खेर गएकाे छ,’ उनले भनिन् ‘सडक पक्की भए मात्रै बत्ति आउने भन्छन् । सोलार सबैको घरमा छैन । टुकीको जमाना सकियो । भेरीको पानी खानुपर्ने बाध्यता रहेको छ ।’
स्वास्थ्य चौकी तरङ्गाले बर्थिङ सेन्टरसहितको स्वास्थ्य सेवा प्रदान गर्छ । अक्सिजन कन्सनट्रेटर र भ्याक्सिन राख्न फ्रिजको व्यवस्था छ । त्यो सञ्चालन गर्नका लागि आवश्यक बत्ति नभएका कारणले समस्या भएको स्वास्थ्य चौकीका प्रमुख चन्द्रकिरण थापा बताउँछन् ।
‘अक्सिजन कन्सनट्रेटर अक्सिजनको सबैभन्दा सजिलो विकल्प हो । बत्ति नभएका कारणले सोलारबाट चलाउनका समस्या छ,’ उनले भने, ‘यहाँ आवश्यकता अनुसारका सबै उपकरणहरु छन् तर बत्ति नहुँदा अहिले सोलारकै भरबाट सेवा प्रवाहमा चुनौती थपिएको छ ।’
विगतमा अक्सिजनको अभावका कारणले एक जना बालकले ज्यान गएको रेकर्ड स्वास्थ्य चौकीसँग छ । अक्सिजन कन्सनट्रेटर बत्ति नभएका कारणले काम नगरेपछि वीरेन्द्रनगर रिफर गरिएका बालकको प्रदेश अस्पताल पुग्नासथ मृत्यु भएको थियो ।
चालु आर्थिक वर्षदेखि हुड्के, ब्युरेनी, साझघाट, चेपाङ जामु सडकको काम धमाधम भइरहेको छ । कर्णाली प्रदेश सरकारले ठेक्का गरेर खड्का कृष्ण-श्याम शंकर जेभी काठमाडौँले निर्माणको जिम्मेवारी पाएको छ ।
६१ करोड ५९ लाख ३० हजार बजेट रहेको सडक निर्माणको काम ०८३ साल असार १५ गतेसम्म सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । विगतमा सडक असहजता थियो अहिले सडकले गति लिँदा विद्युतको काम ठप्प बनेको वडाध्यक्ष बिर्ख सिजापति बताउँछन् ।
ठेकेदारको बदमासीका कारण विद्युत लथालिंग भएको उनले जानकारी दिए । ‘तरङ्गा आउने सिधा लाइन अनुसार काम गरेको भए आजसम्म बिजुली आइसक्थ्यो तर, बिचमा लाइन ८ नम्बरतिर मोड्दा समस्या भयो,’ उनले भने, ‘विद्युत सुचारु गर्न ठेकेदारसँग छलफल भइरहेकाले चाडै निकाश निकाल्ने गरी हामी लागेका छौं ।’
सुशील खड्का । २९ चैत्र २०८१, शुक्रबार १६:२४