व्यापारीको चुनावमा छैन रौनक, अध्यक्ष निर्विरोधहुँदा २४ पदमा ४८ जनाको उम्मेद्वारी

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको १४ औं अधिवेशन आगामी बैशाख ६ गते तय भएको छ । हाल लक्ष्मण कँडेल नेतृत्व रहेको संघको तीन वर्षे कार्यकाल सकिने संघारमा पुग्दै गर्दा सोमबार नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गरिएको हो ।



मनोनयन दर्तामा अध्यक्ष पदमा हर्षविक्रम खड्काको एकल उम्मेद्वारी परेको छ । यसअघिको निर्वाचनमा कँडेलसँग ४८ मतान्तरले पराजित भएका खड्काको काँधमा संघको जिम्मेवारी आइपुगेको हो ।

६ बैशाख २०७९ मा भएको निर्वाचनमा कँडेलले ९११ मत ल्याउँदा खड्काले ८६३ मत ल्याएर पराजित भएका थिए । ब्यापारीहरुको छाता संगठन सुर्खेत उद्योग बाणिज्य संघको हरेक निर्वाचनमा चुनावी सरगर्मी बढ्थ्यो ।

तर नेतृत्व लिन हानथाम गर्ने व्यापारीहरु यो पटकको निर्वाचन प्रक्रिया आरम्भहुँदा उत्साहजनक माहोल छैन् । संघका अधिकाँश ब्यापारी मतदाताहरु काँग्रेस पार्टीका धेरै छन् ।

स्पष्ट दुई गुट बनाएर चुनावमा होमिने व्यापारीहरु कोराना महामारीपछि व्यापारमा देखिएको शिथिलताका कारण चुनावमा रौनक देखाउन नसकिएको एक व्यापारीले बताए ।

‘विगतका हरेक चुनावमा काँग्रेसकै व्यापारीहरु गुटगत रुपमा स्पष्ट लागेर चुनावमा होमिएको तपाइँलाई थाहै छ,’ ति व्यापारीले भने, ‘कोरानापछि मै हुँ भन्ने व्यापारीहरु आर्थिक मन्दीका कारण जर्जर अवस्थामा पुग्दा नेतृत्व लिनकै लागि हानथाप गर्ने मोडमा कोही नहुँदा अध्यक्ष पदमा एकल उम्मेद्वारी परेको हो ।’

सर्वसम्मत नेतृत्व छान्न वर्तमान अध्यक्ष कँडेलसहित संघका पूर्व अध्यक्ष निरञ्जन केसी, पदम शाही, धनबहादुर रावतले सामान्य छलफल चलाएका थिए ।

अध्यक्ष पदका लागि बरिष्ठ उपाध्यक्ष गणेश बस्नेत र महासचिव भद्र भण्डारी आकांक्षी रहेको चर्चा थियो । चुनावको संघारमा पुग्दा दुवै जना पछि हट्दै बस्नेत बरिष्ठ उपाध्यक्षमा दोहोरिएका छन् । बरिष्ठ उपाध्यक्ष पदमै दीपेन्द्र ढकाल, कलाधर उपाध्याय ‘शर्मा’ र प्रेम रावतको उम्मेद्वारी परेको छ ।
महासचिव भण्डारी बाणिज्य उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । सोही पदमा सिंहराज बम र रामप्रसाद पाण्डेको उम्मेद्वारी परेको हो । महिला उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष तारा रावत र कृति गुभाजु शाक्यको उम्मेद्वारी परेको छ ।

उद्योग उपाध्यक्षमा पूर्णप्रसाद जैशी पाण्डे र प्रेम पाण्डेले उम्मेद्वारी दिँदा महासचिव पदमा राजु पाण्डे र ज्ञानेन्द्र विश्वकर्माको उम्मेद्वारी परेको छ । कोषाध्यक्ष पदमा अर्जुनजंग शाही र लक्ष्मण देवकोट तथा उप–महासचिवमा सन्देश रावत, पूर्णप्रसाद अधिकारी र पहलसिंह बस्यालको उम्मेद्वारी परेको छ ।

अध्यक्षमा निर्विराेध भएका खड्काले सहमतिकाे प्रयास जारी रहेकाे बताएका छन् । निर्वाचन प्रक्रियाअनुसार उम्मेद्वारी दर्ता गराएपनि तीन दिनकाे समय रहेकाले सहमतिका लागि अधिकतम प्रयास जारी रहने उनी बताउँछन् ।

९ जना पदाधिकारी र १५ सदस्यगरी २४ जनाको संघको कार्यसमिति हो । तर ९ जना पदाधिकारीमा २१ र १५ सदस्यमा २७ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिको सचिवालयले जनाएको छ ।

सचिवालयअनुसार उम्मेद्वारको रुजु मंगलबार (चैत्र २६ गते) गरिने छ भने उम्मेद्वारहरुको प्रारम्भीक नामावली प्रकाशन चैत २७ गते गरिनेछ । उम्मेद्वारी उपर दावी विरोध चैत २७ र २८ तथा उम्मेद्वारी फिर्ता लिने समय चैत ३० र ३१ गते तोकिएको छ ।

दावी विरोध उपर छानविन र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत ३१ गते, निर्वाचन प्रचारप्रसार बैशाख १ देखि ४ र मतदान बैशाख ६ गते विहान ८ बजेदेखि साँझ ५ बजेसम्म जिल्ला समन्वयन समितिमा गरिने निर्वाचन कार्यतालिका छ ।

तपाईको प्रतिक्रिया