सुर्खेत । दैलेखमा दिउँसो नै दुई जना वृद्धाको सुन लुटिएको छ । दुल्लु नगरपालिका–४ कालाखोला घर भएकी दुई महिलालाई अपरिचित व्यक्तिले सुन लुटपाट गरेर घाइते बनाएका हुन् । दुल्लु नगरपालिका–५ रिजुबाट पिपलपानी हालेर घर फर्किदै गर्दा उनीहरु शान्तिबजार नजिकैको जंगलमा लुटिएका छन् ।

‘जंगलको बाटो फर्किदै गर्दा दुई जना अपरिचत व्यक्तिले हातपात गरेर सुन लटेका रहेछन्,’ ईलाक प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले भने, ‘घटनाबारे जानकारी पाए लगत्तै उद्दार गरेर एक जनालाई उपचारका लागि दुल्लु अस्पताल पुर्याएका छौं ।’

प्रहरीकाअनुसार लुटिनेमा दुल्लु नगरपालिका–४ कालाखोलाका अन्दाजी ७० वर्षीय जमुना कामी र धर्मी कामी छन् । दुवै जनाले लगाएको दुई ओटा तिलहरी र एउटाको मडहरी चोरेर भागेको प्रहरीको भनाई छ ।

रिजुपाेखराबाट घर फर्किने छाेटाे बाटाे भातर्डीकाे जंगल भएर जाँदै गर्दा उनीहरू लुटिएकाे प्रहरीकाे भनाइ छ । लुटिएका महिलाहरुले दिएका जानकारी अनुसार लुट्ने व्यक्ति ११ र १८ वर्ष उमेर समुहका छन् ।
यसअघि पनि त्यो ठाउँमा लुटपाट हुने गरेको स्थानीयले जानकारी दिएको र लुटपाटमा संलग्न व्यक्तिको खोजीका लागि प्रहरीले निगरानीमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

नेपाल कर्म । १८ चैत्र २०८१, सोमबार २१:२४