सेवाग्राहीलाई कर्मचारी संगठनले आफैबाट नमस्कार अभियान थाल्ने

सुर्खेत । नेपाल निजामती कर्मचारी संगठनले सेवाग्राहीप्रति शिष्टाचारको रुपमा आफैबाट नमस्कार अभियायन सञ्चालन गर्ने भएको छ । सरल सरकार, सहज सेवाको मान्यतालाई आत्मसाथ गर्दै संगठनले आफैबाट पहिलो नमस्कार अभियान सञ्चालन गर्न लागेको हो ।




संगठनको पहिलो पदाधिकारी बैठकले कुपिण्डे दह घोषणा पत्र जारी गर्दै सार्वजनिक सेवा प्रवाहमा शिष्टाचारको मान्यतालाई आत्मसात गर्न अभियान सञ्चालन गर्ने निर्णय नै गरिएको नेपाल निजामती कर्मचारी संगठन कर्णाली कार्यसमिति अध्यक्ष राजेश आचार्यले जानकारी दिए ।

सहभागितामूलक सेवाः सुशासनमा टेवा“ भन्ने अभियानलाई, सार्थकता प्रदान गर्न नीति तर्जुमा देखि कार्यान्वयन हुँदै प्रतिफल वितरणसम् आम नागरिक र सरोकारवालको सार्थक र अर्थपूर्ण सहभागिता गराउन “सेवाग्राही लाईनमा होइन अनलाइनमा“ भन्ने ध्येयलाई अवलम्बन गरिने उनले बताए ।

‘संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरुको सेवाको सुरक्षा, वृत्ति विकास, समय सापेक्ष सेवा सुविधा वृद्धि र उच्च मनोभावका साथ सेवा प्रवाह गर्ने कार्य वातावरण सिर्जना गर्न “एकीकृत सरकारी सेवाः विकास र समृद्धिमा टेवा“ भन्ने अभियान सञ्चालनसमेत गरिनेछ,’ आचार्यले भने, ‘सार्वजनिक सेवामा आम नागरिकको समान पहुँचका लागि सार्वजनिक सेवालाई छिटो, छरितो, चुस्त, दुरुस्त, प्रविधिमैत्री, सर्वसुलभ र पारदर्शी बनाउन आम राष्ट्रसेवकहरुलाई अनुरोध गरिएको छ ।’

यस्तै, सार्वजनिक प्रशासनलाई समय सापेक्ष परिस्कृत बनाउँदै आम नागरिकले अनुभुत गर्ने गरी “शीघ्र सेवाः तिव्र विकास“ को अभियानलाई सञ्चालन गरिनेछ । सार्वजनिक प्रशासन भित्रः सुरक्षित कार्य क्षेत्र’ भन्ने अभियान सञ्चालन गरी पेशाकर्मीलाई सुरक्षित र मर्यादित वातावरणमा उच्च मनोबलका साथ सेवा प्रवाह गर्ने उचित कार्य वातावरण सिर्जना गर्न तीनै तहका सरकारलाई संगठनले अनुरोध गरेको छ ।

उच्च क्षमतामा काम गर्ने वातावरण सिर्जना गरी सामाजिक न्याय, दिगो शान्ति, सुशासन र विकास मार्फत “समृद्ध नेपालः सुखि नेपाली“ को राष्ट्रिय आकांक्षा पुरा गर्न आधार सिर्जना गर्न पहल संगठनबाट शुरुवात गरिएको आचार्यले जानकारी दिए ।

पेशागत हक हित र अधिकारको रक्षाका निम्ति ट्रेड युनियन अधिकारको सुनिश्चिता गर्न सरकारसँग माग संगठनको छ । संगठनले जिम्मेवारी र कर्तव्यबोधका साथ सेवा प्रवाहमार्फत कर्णाली प्रदेश सरकारको “समृद्ध कर्णालीः सुखारी कर्णालीबासी“ को अभियानलाई सार्थकता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया