बसपार्कमा यात्रु तनातान नगर्ने यातायात व्यवसायीको प्रतिवद्धता

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत बसपार्कबाट बाहिरिने यात्रुलाई तनातान नगर्ने प्रतिवद्धता यातायात व्यवसायीहरुले गरेको छन् । वीरेन्द्रनगर नगरपालिकाको अगुवाइमा सोमबार भएको छलफलमा सहज रुपमा यात्रामा निस्कने यात्रुहरुलाई कुनै दुव्र्यवहार नगर्ने र त्यस्तो गर्नेलाई कारवाही गर्नमा सबै सहमत भएका हुन् ।



नगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा भएको बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, जिल्ला ट्राफिक कार्यालयका प्रमुख वकिल सुनार र १० वटै प्रा.लि.का प्रतिनिधि बैठकमा सहभागी थिए । राजधानीको बसपार्कमा यात्रुमाथि भइरहेको ज्यादती रोक्न छलफल गरिएको र व्यवसायीका प्रतिनिधिले बसपार्क भित्रैबाटै सवारी छुटाउने प्रतिवद्धता जनाएको प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

यातायात व्यवसायीहरुले यात्रु कसले बढी चढाउने भन्दै मंगलगढी चौकदेखी यरिचोकसम्म गाडी सडकमा राखेर यात्रु तानातान गरिरहेका छन् । बसपार्क भित्र नै यात्रुलाई सम्मान जनक रुपमा प्रवेश गर्न नदिएर व्यवसायीका मजदुरहरुले जवरजस्ती यात्रु तान्ने गर्दा आलोचना बढ्ने गरेको छ ।

‘बसपार्क बाहिर गाडी राखेर यात्रु तान्ने कार्य तत्कालै बन्द गर्ने र अटेरी गरे कारवाहीसम्म गरिने सहमति भयो,’ ढकालले भनिन्, ‘बासपार्कलाई सुधार गर्न नगरपालिकाले आवश्यक थप प्रक्रिया बढाउने र बसपार्कदेखिको पश्चिम क्षेत्रमा पार्किङस्थल व्यवस्थित बनाउन प्रक्रिया थालिसकेका छौं ।’

नगरपालिकाले पार्किङ क्षेत्र विस्तार गरेर बसपार्क बाहिर होटल र सडक किनारामा पार्किङ गरिएका सवारीलाई अनिवार्य भित्र राख्न प्रक्रिया थालेको हो । पार्किङका लागि एक करोड बजेट सुनिश्चित गरिएकाले चाडैं नै काम सम्पन्न गरिने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया