हिल्सा नाका खुलेपनि नाक्चेनाङ्ला अन्याैल

मुगु । कोरोना महामारीका कारण झन्डै ४ वर्षदेखि बन्द हुम्लाको हिल्सा नाका सोमबारदेखि चीनले खुला गरेको छ । हिल्सा नाका खुलेपछि चिनियाँ सामान नेपालतिर आउन थालेको छ । हुम्लावासी १७ जना चिनियाँ बजार ताक्लाकोट पुगेका छन् ।




मुगु सीमास्थित नाक्चेनाङ्ला नाका भने अझै खुलेको छैन । कोरोनाका कारण तिब्बत र मुगुको व्यापारिक साइनो टुटेको छ । नाक्चेनाङ्ला नाका बन्द हुँदा मुगुमकार्मारोङ गाउँपालिका निवासी दैनिक उपभोग्य सामान, खाद्यवस्तु, लत्ताकपडादेखि भेडाच्याङ्ग्रा आयात गर्नबाट वञ्चित छन् । उनीहरूलाई सदरमुकाम आउजाउ गर्न कम्तीमा ५ दिन लाग्छ । पहिला उनीहरू चिनियाँ खाद्यान्नमा निर्भर थिए ।

१७ बस्तीको पालिकामा अत्यधिक चिसो र सिँचाइ सुविधा नभएकाले वर्षभरि एक बाली उवा मात्र फल्छ । ‘आफ्नो उत्पादनले ३ महिना पनि खान पुग्दैन, घरबाट एक दिन टाढाको चिनियाँ नाका लामो समयदेखि बन्द छ,’ मुगुगाउँका सोनाम तामाङले भने, ‘नाका नखुल्दा एक बोरा चामल ल्याउन पनि ५ दिन हिँडेर गमगढी जानुपरेको छ ।’

लामो समयदेखि उत्तरी नाका बन्द हुँदा जडीबुटीदेखि स्थानीय उत्पादन उचित मूल्यमा बेच्न नपाएको स्थानीय तेन्जिङगुरु तामाङले गुनासो गरे । उनका अनुसार पहिले कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा संकलन हुने कटुकी, वन लसुन, यार्चालगायत १८ प्रजातिको जडीबुटी तिब्बतमा निर्यात हुन्थ्यो । अहिले नाका बन्द हुँदा उक्त जडीबुटी स्थानीयले घोडा, खच्चडमार्फत बोकाएर गमगढी ल्याउने र त्यहाँबाट गाडीमा नेपालगन्ज हुँदै भारतसम्म पुर्‍याएर बेच्नुपर्ने बाध्यता छ ।

पहिले तिब्बती हाटबजारबाट एक वर्षसम्म पुग्ने गरी नुन, तेल, चामल, मैदा, चियालगायत सामान ल्याएर उपभोग गर्न बानी परेका कार्मारोङवासीलाई अहिले दैनिक उपभोग्य सामग्री जुटाउन ठूलो सास्ती छ । ‘तिब्बती नाका बन्द हुँदा हामीलाई अहिले साह्रै दुःख छ,’ चितै गाउँकी याङजुम तामाङले भनिन्, ‘चिनियाँ सामान सस्तोमा पाइन्थ्यो, एक दिनमा चिनियाँ नाकामा पुगिन्थ्यो, अहिले सदरमुकाममा महँगोमा सामान किनेर गाउँसम्म ढुवानी गर्दा दोब्बर बढी ढुवानी भाडा तिर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया