गोठीकाँडालाई पर्यटकीय हव बनाउँन के छ वीरेन्द्नगरकाे याेजना ?

सुर्खेत । सुर्खेतको पुरानो जिल्ला सदरमुकाम वीरेन्द्रनगर नगरपालिका–१४ स्थित गोठिकाँडालाई पर्यटकीय हव बनाउने तयारी भएको छ । वीरेन्द्रनगर बजारमा सुदरमुकाम नसर्नु अघि गोठिकाँडाबाटै प्रशासनिक काम गरिन्थ्यो । २०२३ साल अघि सदरमुकाम गोठिकाँडा नै थियो । उतीबेला निकै चहलपहल हुने गोठीकाँडा क्षेत्रमा फेरी मानिसको बसोबास तथा जग्गा किनबेचको चहलपहल बढेको छ ।




वीरेन्द्रनगरमा औलो उल्मुलन हुनुपूर्व यहाँ ठुलो बस्ती थियो । २०१९ सालमा वीरेन्द्रनगरमा औलो उन्मूलन कार्यालय स्थापना भयो । औलो उन्मूलन कार्यालय स्थापना भएर अभियान चलेपछि विस्तारै गोठीकाँडाको बस्ती उपत्यका झर्न थालेको इतिहाँस छ ।

वीरेन्द्रनगरमा २०२२ सालमा औलो उन्मूलन घोषणा भएसँगै २०२३ साल मंसिरतिरबाट गोठीकाँडा क्षेत्रका प्रशासनिक कार्यालयहरु उपत्यकामा स्थानान्तरण भएका थिए । त्यसयता यो क्षेत्र ओझेलमा पर्दै आएको थियो ।

कुनै बेलाको प्रशासनिक केन्द्र रहेको गोठीकाँडालाई वीरेन्द्रनगर नगरपालिकाले फेरी पर्यटकीय क्षेत्र बनाउने योजनामा अगाडी बढाएको छ । गोठीकाँडा क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको नगर प्रमुख मोहनमाया ढकालले बताइन् । यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकियो भने आर्थिक विकास हुने उनको भनाइ छ ।

२०२३ साल अघि सुर्खेत सदरमुकाम रहेकाे गोठीकाँडा र त्यहीँबाट देखिएकाे अहिलेकाे सदरमुकाम वीरेन्द्रनगर उपत्यका ।

गोठीकाँडाको पर्यटकीय गुरुयोजना बनाएर काम गर्ने सोच बनाएको उनले बताइन् । गोठिकाँडा क्षेत्रलाई पर्यटकीय गतव्य बनाउन अहिले प्याराग्लाइडिङ बेला बेला सञ्चालनमा ल्याउने गरिएकाे छ । गढी नजिकै बटुक भैरबको मन्दिर,  शहिद पार्क निर्माण गरिएको छ भने ऐतिहाँसिक गढीको संरक्षण तथा पुर्ननिर्माणको पहल थालिएको छ ।

सुर्खेत-दैलेख सडक भएर कपासेबाट गाेठीकाँडा पुग्ने गरिएपनि गढी जाने बैकल्पिक सडक टेम्पाेपार्कहुँदै बराहताल गाउँपालिका-१० सलेना गाउँ भएर निर्माण गरिएकाे छ ।

हिउँदमा पारिलो घाम ताप्न पाइने र गर्मीयाममा चिसो हाबा चल्ने भएका कारणले सो क्षेत्रमा आन्तरिक पर्यटकको उच्च रोजाईमा छ । गोठीकाँडा क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर बाह्य पर्यटक ल्याउने लक्ष्य नगरपालिकाको छ ।

गढीमा निर्माण गरिएकाे बटुक भैरबको मन्दीर ।

ऐतिहाँसिक महत्व बोकेको गोठीकाँडा गढीको संरक्षण गर्न पहल थालिएको छ । ऐतिहाँसिक महत्व बोकेको गढीमा नेपाली सेनाले संरक्षण गर्दै आएको छ । नेपाल एकिकरणको समयमा बहादुर शाहको पालामा वि.सं. १८४८ मा गोठीकाँडा गढी निर्माण गरिएको बताइन्छ । पाँच कठ्ठा १३ धुर क्षेत्रफलमा गढी अवस्थित छ । गढी नजिकै बटुक भैरबको मन्दिर छ ।

नेपाल एकिकरणको समयमा बहादुर शाहको पालामा वि.सं. १८४८ मा गोठीकाँडा गढी निर्माण गरिएको बताइन्छ । अहिले यो भग्नाशेषका रुपमा रहेको छ ।

संरक्षण र प्रचार प्रसारमा ध्यान नदिँदा ऐतिहाँसिक महत्व बोकेको गोठीकाँडा गढीको स्वरुप मासिँदै गएको छ । गढी क्षेत्रमा पहिले वरिपरि ढुङ्गाको पर्खाल र सेनाले लुकेर गोली हान्ने गराइएका पर्खालमा प्वाल अहिले पनि देखिन्छन् ।

तर पछिल्लो समय ति सबै पुरिँदै गएको वीरेन्द्रनगर नगरपालिका–१४ वडाध्यक्ष देवबहादुर रोकायले बताए । यसको संरक्षण, प्रचार प्रसार, उत्खनन् र पुनर्निर्माणका लागि यस क्षेत्रका मन्त्री, नेता, राजनीतिक दलका प्रतिनिधि, अन्य सरोकारवालासँग कुरा राखेपनि सोचे अनुसार काम नभएको उनको भनाइ छ ।

गढीको विषयमा अध्ययन गर्न पुरातत्व विभागबाट इन्जिनियरसहितको टोलीले अध्ययन गरेको वडाध्यक्ष रोकायले बताए । उनका अनुसार यस विषयमा पुरातत्व विभागबाट टोली आएर अध्ययन गरेर गएको छ । त्यस अध्ययनको निष्कर्षको आधारमा काम अघि बढ्छ ।

गोठिकाँडाको गढीलाई पुरातत्व विभागले हेरिरहेको छ । गढीलाई पुरानै स्वरुपमा फर्काउन नेपाली सेनामार्फत पुरातत्व विभागसँग कुरा भइरहेको वडाध्यक्ष रोकायले बताए । गढीको संरक्षणको विषयमा तत्कालिन गढी गाविस हुँदैदेखि छलफल सुुरु भएको हो ।

तर राज्यले यसको उत्खनन्, पुनर्निर्माण गर्न सकेको छैन । नेपाल एकीकरणका समयमा दैलेख राज्य जित्ने समयमा यो गढी बनाईएको हुनसक्ने अनुमान गरिएको छ । ‘गढीको विषयमा अध्ययन र अनुसन्धान हुन आवश्यक छ । त्यहाँ उत्खनन् गरे केही प्रमाण फेला पर्न सक्ने सम्भावना छ’ नगर प्रमुख ढकालले भनिन्, ‘गोठीकाँडा क्षेत्रलाई पर्यटकीय गुरुयोजना बनाएर अगाडी बढ्ने लक्ष्य छ । यो क्षेत्रबाट सुन्दर वीरेन्द्रनगर लगायतका अन्य क्षेत्र दृष्य सहजै अवलोकन गर्न सकिन्छ ।’


पुरातत्व विभागको अनुमति बिना पुनर्निर्माण गर्न सकिने अवस्था नभएका कारण तारबार गरेर संरक्षण मात्रै गरिएको नगर प्रमुख ढकालले बताइन् । शनिबार लगायतका बिदाका दिनमा आन्तरिक पर्यटकको घुईचो लाग्ने गरेको स्थानीय रणप्रसाद चालिसेले बताए ।

वीरेन्द्रनगरको माथिल्लो भाग गोठीकाँडाबाट उपत्यकासम्म प्याराग्लाइडिङका लागि उपयुक्त स्थान मानिन्छ । सुर्खेतको वेलकम प्याराग्लाइडिङ प्रा.लि.ले जनशक्ति व्यवस्थापनका लागि बाबु एड्भेन्चर प्रालिसँग सहकार्य गरेर अहिले प्याराग्लाइडिङ गरिरहेको छ ।

प्याराग्लाइडिङका लागि उपयुक्त स्थान रोजेर जनशक्तिको व्यवस्थापनसहित सेवा सुरू गरिए पनि सोचेअनुसार व्यावसायिक बन्न नसकेको वेलकम प्याराग्लाइडिङ प्रालिका सञ्चालक पदमबहादुर शाहीले बताए ।

सुर्खेत प्याराग्लाइडिङ हब बन्न सम्भव छ भन्ने सन्देश दिन र विस्तारै यसलाई व्यावसायिक बनाउने योजनासहित बन्द भएको यो व्यवसाय ६ बर्षपछि फेरी सुरु गरेको उनको भनाइ छ । सुरुमा आशलाग्दो गरी आन्तरिक पर्यटक आएपनि सडक लगाएत पूर्वाधारको अभावका कारण पछि सोचेअनुसार नभएको उनले बताए ।

‘सुर्खेतमा प्याराग्लाइडिङ सम्भावना अझै पनि भएकाले निरन्तर सञ्चालनमा राखिनेछ’ उनले भने, ‘सबै आन्तरिक पर्यटक यस्तो साहसिक पर्यटनमा चासो नदिने र बाह्य पर्यटक आउने क्रम नबढेकाले अपेक्षा अनुसार व्यावसायिक बन्न नसकेको हो ।’

गोठीकाँडादेखि वीरेन्द्रनगर उपत्यकाको दुरी नजिक भएकाले उडेर सिधै अवतरण गर्ने हो भने ५-६ मिनेट मात्र समय लाग्ने गरेको छ । तर प्याराग्लाइडिङ चारैतिर घुम्दै अवतरण गर्ने हो भने २५ मिनेटसम्म लाग्ने गरेको छ ।

नेपाल पत्रकार महासंघ शाखा, सुर्खेतले पनि ४ बुँदे गढी घोषणापत्र जारी गर्दै ऐतिहाँसिक गढी क्षेत्रलाई पर्यटकीय हवको रुपमा विकास गर्न नगरपालिकासँग अपिल गरेको छ ।

नगर उपप्रमुख निलकण्ठ खनालले गढी क्षेत्रको पर्यटकिय विकासका लागि सबैभन्दा पहिले पक्की सडक निर्माणको कामलाई जोड दिइएको बताए । सडक विस्तारपछि अन्य संरचनाको काम गरेर गढीलाई सुर्खेतकै उत्कृष्ट पर्यटकिय क्षेत्र बनाइने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया