सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) को उद्घाटन गरेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको हाताभित्र सञ्चालनमा रहेको केन्द्रको आज एक कार्यक्रमका बिच विधिवत रुपमा उद्घाटन गरिएको हो ।
नगर उपप्रमुख निलकण्ठ खनालले केन्द्रको उद्घाटन गरेका छन् । नागरिकहरुलाई वैदेशिक रोजगारी सम्बन्धी सही सुचना प्रदान गर्नका लागि आप्रवासी स्रोत केन्द्रको सञ्चालन गरिएको छ ।


नेपाल सरकारले सञ्चालन गरेको यस कार्यक्रमका लागि स्विस सरकारमार्फत हेल्भेटास नेपालको प्राविधिक सहयोग रही आएको छ । सरकारका तिनै तहबाट कार्यान्वयनमा आएको यस सुरक्षित आप्रवासन सामी कार्यक्रमको यो चौथो चरण हो ।
तर कर्णालीमा भने सल्यान बाहेक करिब दुई महिनाअगाडीदेखि मात्रै कार्यक्रम लागु गरिएको हो । वैदेशिक रोजगारीमा जाने उदेश्यले पासपोर्ट बनाएका, वैदेशिक रोजगारीमा गएका, वैदेशिक रोजगारीबाट फर्केका र वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुका परिवारहरुका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले काम गर्ने वीरेन्द्रनगर नगरपालिका सुर्खेतका रोजगार संयोजक मोहन प्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार सामी अन्तर्रगत थुप्रै कार्यक्रम रहेको र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्रगत रही वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि विभिन्न संयन्त्रहरले काम गरिरहेका छन् ।
आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारीमा जाने मनसायले पासपोर्ट बनाउने नागरिकहरुलाई वैदेशिक रोजगारीमा कसरी सुरक्षित जान सकिन्छ , सरकारले कुन कुन देशहरुमा जानकालागि श्रम स्वीकृती दिएको छ ।
वैदेशिक रोजगारीमा जाँदा कुन कुन प्रक्रिया अपनाउनुपर्छ र वीदेशमा कोही व्यक्ति अलपत्र वा ठगीमा परेमा समेत परामर्शसंगै उद्धारमा सहजीकरण लगायतका काम केन्द्रले गर्ने पौडेलले बताए ।
केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले राज्यले स्वीकृती नदिएको देशमा नजान आम नागरिकहरुलाई आग्रह गरे । उनले वैदेशिक रोजगारीमा सके सम्म नागरिकहरुलाई जान नपरोस् भनी नीती निर्माणमा आँफुहरुले ध्यान दिएको भन्दै जानै परेको खण्डमा सुरक्षित तरिकाले र सही सुचना लिएर मात्रै जान सुझाव दिए ।

आगामी बजेट निर्माणका समयमा टोल विकासतहसम्मै पुग्नेगरी सुरक्षित वैदेशिक रोजगारसँग सम्बन्धित कार्यक्रमहरु निर्माण गर्ने उनले बताए । सबै कुरा थाहा हुँदा हुँदै पनि तल्लो बाटो जानेहरुनै विशेष असुरक्षित भएको खनालले बताए ।
नेपालमै रोजगारी सिर्जना गर्न र काम गर्नेहरुलाई सम्मान गर्ने परिपाटीको विकास गर्नका लागि समेत उनले आँफुहरुले काम गर्ने बताए । कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशका सचिव दिर्घनारायण कोइरालाले नेपालको अन्तरपुस्ता विदेश जाने लहर चलेको भन्दै यसलाई रोक्नका लागि विभिन्न कार्यक्रहरु ल्याउनुपर्ने बताए ।
उनले रिटर्नीहरुका लागि समेत सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले दैनिक पाँचहजार भन्दा बढी विदेशीने गरेको र दैनिक दुईवटा भन्दा बढी लाश नेपालमा भित्रिनेगरेको बताउँदै विदेशमा रगत र पसिना बगाएको रकम घरपरिवारले के कसरी खर्च गरिरहेका छन् भन्ने विषयमा समेत सरकारले कार्यक्रम चलाउनुपर्ने बताए ।
उनले वित्तियसाक्षरताका कक्षाहरु वैदेशिक रोजगारीमा रहेको व्यक्तिहरुका आफन्तलाई दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै हेड अफ कोअपरेसन स्विस राजदुतावासका मिस्टर म्याथिउले आप्रवासी केन्द्रबाट दिइने परामर्शले नागरिकहरु वैदेशिक रोजगारीका शिलशिलामा सुरक्षित रहने बताए ।
सामी कार्यक्रममा आँफुहरुको जम्मा तिस प्रतिशत बजेट मात्र भएको र अन्य सत्तरी प्रतिशत बजेट नेपाल सरकारकै भएकोले यो नेपाल सरकारको आफ्नो कार्यक्रम भएको उनले बताए ।
कार्यक्रममा वीेरेन्द्रनगर नगरपालिकाका सामाजिक विकास समिति संयोजक टिका घले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटा, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका प्रतिनिधी रिदेश केसी, सामी टिम लिडर टंक आचार्य, सामी कर्णाली प्रतिनिधी कमल रोकाय लगायतको सहभागीता रहेको थियो ।
आप्रवासी परामर्शकर्ता सीता कुमारी वलीले एकमहिने प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनका अनुसार हालसम्म जम्मा ५ सय ५१ जनालाई आँफुहरुले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी परामर्श दिएको भन्दै सुर्खेत जिल्लाका सबै स्थानीयसंगै कर्णालीका सबै जिल्लाका नागरिकहरुले समेत केन्द्रबाट सेवा लिएका छन् ।
जसमा कर्णाली उत्सवमा वैदेशिक रोजगार बोर्ड सचिवालयमार्फत स्टलबाट १ सय ९२ जना र जिल्ला प्रशासन कार्यालय सुर्खेतको हाताभित्र सञ्चालनमा रहेको आप्रवासी परामर्श केन्द्रबाट ३ सय ५९ जनाले सेवा लिएको उनले बताईन् । सेवा लिँदा सेवाग्राहीको सम्पुर्ण जानकारी रेकर्डका रुपमा फर्म भरेर राखिने र त्यसलाई अनलाईन अपडेट गरी सुरक्षित समेत गरिने उनले बताइन् ।

नेपाल कर्म । ५ चैत्र २०८१, मंगलवार ०७:२७