सुर्खेत । जाजरकोट बारेकोट गाउँपालिकामा कार्यरत सब–इन्जिनियर हिमाल पुनमाथि कुटपिट भएपछि कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गरेर बिरोध गरेका छन् । कर्णाली प्रदेशका नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले संयुक्त रुपमा विज्ञप्ती निकालेर घटनाको दोषीलाई कारवाही गर्न माग गरेका हुन् ।
निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक, जनमुखी र प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना भएका निजामती क्षेत्रका राष्ट्रियस्तरका ट्रेड युनियनहरुले आफ्ना हक अधिकारहरु स्थापित गराउन, सेवाको सुरक्षाको प्रत्याभुत गर्न र कर्मचारीहरुको कार्यस्थलको सुरक्षाको ग्यारेण्टी गर्न संयुक्त रुपमा विज्ञप्ती निकालेर उनीहरुले माग गरेका छन् ।


‘सार्वजनिक प्रशासनलाई गरिमामय सेवाको रुपमा स्थापित गर्न निरन्तर लागिरहेको विषय सर्वविदितै छ,’ विज्ञप्तीमा भनिएकाे छ, ‘जुनसुकै विवाद र समस्याको समाधान वार्ता, सम्वाद र सामुहिक सौदाबाजीको माध्यमबाट निकाल्न सकिन्छ भन्ने ट्रेड युनियनहरुको ठहर रहेको छ।’

कार्यस्थलमा सेवा प्रवाह गरिरहेका कर्मचारीमाथि जिम्मेवार व्यक्तिबाट हुने अमानवीय, गैरकानूनी र अपराधिक घटनाको तीनै संघ संगठनले भर्त्सना गरेका छन् । कार्यालयको काममा खटिएको कर्मचारीमाथि कुटपिट गर्ने र अभद्र व्यवहारमा संलग्न व्यक्तिलाई कानून बमोजिम कडा भन्दा कडा कारबाही गर्न उनीहरूकाे माग छ ।
चैत्र ३ गते जाजरकोट जिल्ला बारेकोट गाउँपालिका–६ को सीता माध्यामिक विद्यालय, कार्कीज्युलाको दिवा खाजा घरको अनुगमन तथा निरीक्षण गर्ने क्रममा उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र नेपालीले बारेकोट गाउँपालिकाको कार्यालयमा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर पुन माथि हातपातसहित कुटपिट भएको थियो । कुटपिट गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेपाली फरार रहेको प्रहरीले जनाएको छ ।

नेपाल कर्म । ४ चैत्र २०८१, सोमबार १९:१६