जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका–६ कार्कीज्यूलास्थित सीता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र नेपालीले सब इन्जिनियर हिमाल पुन माथि रड र ढुंगा प्रहार गरेका छन् ।
यो घटना आइतबार विद्यालयको दिवा खाजा भवनको निरीक्षण गर्न गएका पुन र नेपालीबीच विवादको कारणले भएको हो ।
घटनाको विवरण अनुसार सब इन्जिनियर पुनले विद्यालयको भवनको गुणस्तरको विषयमा नेपालीसँग छलफल गर्दै गर्दा दुवैबीच विवाद भएको थियो ।

यसको परिणामस्वरूप नेपालीले अचानक रड र ढुंगा प्रहार गरी पुनलाई घाइते बनाएका हुन् ।

घटनापछि पुनलाई जिल्ला अस्पताल खलङ्गा लगिएको छ भने नेपाली घटनास्थलबाट फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक हरीराम डाँगीले पुनको पाखुरा र हिपमा चोट लागेको बताएका छन् ।
उनलाई उपचारका लागि अस्पताल पठाइएको छ । नेपालीको खोजी भइरहेको छ ।

नेपाल कर्म । ४ चैत्र २०८१, सोमबार १८:११