
सुर्खेत । एमालेका पोलिट्ब्युरो सदस्य लक्ष्मीप्रसाद पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतको उत्तर प्रदेशको राजा बनाउन सुझाव दिएका छन् । फागुन २५ गते त्रिभुवन विमानस्थलबाहिर राजावादीहरुको प्रर्दशनमा भारतीय मुख्यमन्त्रीको तस्बिरसहित राजसंस्था पुनर्स्थापनाको नारा लागेपछि नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो सुझाव दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, “राजा त बनाउने तर कहाँको राजा बनाउने ? नारायणहिटीको ? गोर्खाली राजाका सन्तानले २४० बर्षसम्म गद्दी वरको पर सार्दै गद्दीमा बस्दै राजतन्त्र चलाए, राजतन्त्रले २०१५ सालमा जनताको मतबाट बनेको सरकार खायो, प्रजातन्त्र खायो, २०३६ सालको जनमतसंग्रहमा वनजङ्गल खायो, २०४६ सालको जनआन्दोलनमा नेपाली जनताका छोराछोरी खायो, २०५८ सालमा आफ्नै राजाको वंश खायो, ०६२-६३ को आन्दोलनमा फेरि छानीछानी जनताका छोराछोरी खायो, राजतन्त्रको पुरै अवधिभर कैयौं नेपाली जनताको रगत खायो, पहेंलोबस्त्र लगाएरै मन्दिरका मुर्ति खायो, कैयौं युवतीको जोवन खायो, गीतकार, सङ्गीतकार कोही बाँकी राखेन राजतन्त्रले ।”


राजतन्त्रबाट आजित भएका नेपाली जनताले कहिल्यै नर्फकिने गरी ज्ञानेन्द्र शाहलाई बिदा गरेकाले बरु आदित्यनाथलाई राजा बनाउन मन छ भने आफ्नै उत्तर प्रदेशकै राजा बनाउन उनले भनेका हुन् । संविधानसभा सदस्य पोखरेल एमाले दैलेख जिल्ला इञ्चार्ज हुन् ।
नेपाल कर्म । १ चैत्र २०८१, शुक्रबार १६:४८