प्रमुख सचिवलाई स्वागत गर्दै कर्मचारीले झेलेका समस्या बारे संगठनले गरायो ध्यानाकर्षण

सुर्खेत । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुख सचिव वीरेन्द्रकुमार यादवलाई नेपाल निजामती कर्मचारी संगठनले स्वागत गरेको छ । संगठनको प्रदेश र जिल्ला कार्यसमितिले संयुक्त रुपमा सरुवा भएर आएका सचिवलाई मन्त्रीपरिषद कार्यालयमै पुगेर स्वागत गरेको हो ।



प्रमुख सचिव यादवको स्वागतसँगै प्रदेशमा कार्यरत निजामती कर्मचारीहले झेल्नु परेका समस्याबारे ध्यानाकर्षणसमेत गराइएको नेपाल निजामति कर्मचारी संगठन सुर्खेतका अध्यक्ष सीता कँडेलले जानकारी दिइन् । उनले यथाशीघ्र सम्बोन्धन गर्नैपर्ने विषयबारे प्रमुख सचिवलाई जानकारी गराइएको बताइन् ।

‘प्रदेश निजामती सेवा र स्थानीय सेवा ऐनको संशोधन तत्कालै अगाडी बढाउनु पर्ने र प्रदेश र स्थानीय तहका कर्मचारीको अध्ययन विदाको स्वीकृतिका लागि ध्यानाकर्षण गरायौं,’ कँडेलले भनिन्, ‘प्रदेश र स्थानीय तहका कर्मचारीको प्रदेश कर्मचारी अभिलेखालयको व्यवस्थापन, कर्णाली प्रदेशको संगठन तथा व्यवस्थापन सर्वेक्षण र प्रदेशका निकायहरूमा कार्यरत कर्मचारीहरूको तलवी प्रतिवेदन पारित गर्नुपर्ने विषयका सवालमासमेत जानकारी गराएका छौं ।’

कर्मचारीहरुले झेलिरहेको अर्को समस्या स्थानीय तहको सरूवा व्यवस्थापनसहित अन्य विषयबारे स्पष्ट प्रमुख सचिव ज्यू समक्ष जानकारी गराएको उनले उल्लेख गरिन् । संगठनले उठान गरेका विषयमा प्रमुख सचिव यादवले शुरुवातमा कर्मचारी क्षेत्रमा देखिएका समस्याहरु जानकारी गराएकामा धन्यावाद दिएका थिए । उनले तत्कालै समाधान गर्नुपर्ने कतिपय विषयहरुलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

यादव यसअघि पनि सुर्खेतको प्रमुख जिल्ला अधिकारी र आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवको रुपमा काम गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया