महिला योगदानको इतिहास दर्साउन फोटो प्रदर्शनी हुँदै

सुर्खेत । नेपाली महिलाहरुको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्न वीरेन्द्रनगरमा फोटो प्रदर्शनी हुने भएको छ । नेपाल पिक्चर लाइब्रेरीले ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ को दोस्रो चरणको देशव्यापी यात्रा अन्तर्गत वीरेन्द्रनगरस्थित घण्टाघर पसिरमा फागुन २६, २७ र २८ फोटो प्रदर्शनी गर्ने भएको हो ।



पहिलो चरण अन्तर्गत वीरगंज र जनकपुरको सफलता पछि दोस्रो चरण सुर्खेत र नेपालगंजमा फोट प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ । प्रदर्शनीको मुख्य उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नता मार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्नु हो ।

प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्वलाई स्थापित गर्ने उद्देश्यका साथ फोटो प्रदर्शनी गर्न लागिएको नेपाल पिक्चर लाइब्रेरीका सम्झना नेपालीले बताइन ।

‘यो देशव्यापी यात्रा विभिन्न क्षेत्रमा हुने प्रदर्शनी लूपहरूमा आधारित हुनेछ । जसले ग्रामीण र शहरी क्षेत्रहरूमा महिला इतिहासको अभिलेखलाई पहुँचयोग्य र सान्दर्भिक बनाउँदै ऐक्यबद्धता निर्माण गर्न, र महिलाहरूको योगदानलाई संकलन र सम्झना गर्न साझा मञ्च प्रदान गर्नेछ,’ उनले भनिन् ।

सुर्खेतमा गर्न लागिएको दोस्रो चरणको प्रदर्शनी कर्णाली आट्र्स सेन्टरसँगको साझेदारीमा आयोजना गर्न लागिएको नेपालीले बताइन । नेपाल पिक्चर लाइब्रेरी एक स्वतन्त्र डिजिटल फोटो अभिलेख रहेको उल्लेख गर्दै नेपालको इतिहासलाई विविधता प्रदान गरी सबैका लागि पहुँचयोग्य र समावेशी सार्वजनिक अभिलेख श्रीजना गर्ने उद्देश्य राखेको नेपालीले बताइन ।

‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल नेपाल पिक्चर लाइब्रेरीको निरन्तर चलिरहेको परियोजना हो जसले नेपालको महिलावादी इतिहासलाई समृद्ध बनाउन योगदान पु¥याउँदै आएको छ,’ उनले भनिन् ।

परियोजना २०७५ सालमा नेपाल पिक्चर लाइब्रेरीको दस्तावेज र अभिलेख सृजनाको पहलबाट सुरु भएको हो । २०८० सालमा पुस्तकको रूपमा पनि प्रकाशित भएको थियो । यो प्रदर्शनीले काठमाडौँ (नेपाल), नयाँ दिल्ली (भारत), कोची (भारत), इस्तानबुल (टर्की), सिंगापुर, र ब्रेडा (नेदरल्याण्ड) लगायतका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थानहरूमा यात्रा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया