जाजरकोट भूकम्पपछि बाँडिएको रकममा वेथिति भएको प्रधानमन्त्रीको खुलासा

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पपछि बाँडिएको अस्थायी आवास निर्माणको रकममा वेथिति भएको खुलासा गरेका छन् । शुक्रबार कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले भत्केका वास्तविक संरचनाभन्दा बढीलाई अस्थायी आवासको रकम बाँडिएको बताएका हुन् ।




झण्डै ३६ हजार घरधुरी भएको ठाउँमा ४८ हजार घरधुरीलाई किस्ता बाँडिएको खुलासा प्रधानमन्त्रीले गरेका छन् । वास्तविक अवस्था लुकाई भएको वेथितिलाई सरकारले गम्भीरतापूर्वक लिएको ओलीको भनाई छ ।

जाजरकोट भूकम्पपछिको विस्तृत क्षतिको मूल्यांकन अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अस्थायी आवासको रकममा भएको वेथिति अध्ययन गरी तत्काल कारवाही गर्न सम्बन्धित जिल्लामा कार्यालय स्थापना गर्न लागेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कांग्रेस–एमाले सम्मिलित सरकारले अघि बढाउन खोजको संविधान संशोधनको विषय एक दुई जना व्यक्ति वा समुहको स्वार्थ पुरा गर्न नभई राष्ट्रको हित रहेको दावी गरे ।

जनभावना अनुसार विकासका अपेक्षा पुरा गर्न संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै उनले एमाले–कांग्रेस बिच सहकार्य हुँदा भएको सात बुँदे सम्झौताको दोस्रो बुँदामा संविधान संशोधनको विषय राखिएको बताए ।

संसदमा सम्बोधन गर्नुअघि प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालयले आयोजना गरेको दीक्षान्त समारोहमा सहभागी बनेका थिए । उनले विश्वविद्यालयका तीन हजार ८४१ जनालाई दीक्षित गरेका छन् ।

शिक्षा केबल डिग्री प्राप्त गर्नु मात्र नभई जीवनलाई सही दिशा दिने मार्ग रहेको बताउँदै उनले दीक्षित भएका विद्यार्थीलाई आफ्नै देशमा नवीनतम् काम गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया