अपराधका नयाँ शैलीविरूद्ध तदारूकता देखाउन मुख्यमन्त्रीको निर्देशन

सुर्खेत । नविनतम आविष्कार र नयाँ प्रविधिको कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरूद्ध तदारूकता बढाउन प्रहरीलाई कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले निर्देशन दिएका छन् । वर्तमान र भविष्यमा हुने सक्ने अपराधहरूको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरी हरदम तयारी अवस्थामा रहनेगरी लाग्न निर्देशन कँडेलले दिएका हुन् ।




समाजमा बदलिँदो आपराधिक परिवेश, सूचना प्रविधिले ल्याएको विकास र यसले निम्त्याएको विनाश एवम् अनुशासनहीनतालाई सेवा प्रवाहमा विकास र परिवर्तन गर्दै गएकोमा कँडेलले प्रहरीको प्रशंसा गरे ।

प्रदेशस्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठीमा बोल्दै कँडेलले अपराध अनुसन्धानको विद्यमान अवस्थाको समिक्षा गरि सुधारका क्षेत्रहरु पहिचान गरेर अघि बढ्नुपर्ने बताए ।

‘अनुसन्धानमा रहेका कानूनी लगायत अन्य समस्याको पहिचान गरि समाधान गर्न साझा धारणा विकास गर्नुहोस्,’ कँडेलले भने, ‘नागरिकको जीउ, धन र वैयक्तिक स्वतन्त्रताको संरक्षण गर्नु र विना भेदभाव न्यायको सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो ।’

राज्यले कानून तर्जुमा गर्नु मात्र पयाप्त नभइ कानूनको प्रभावकारी कार्यान्वयन, विद्यमान कानूनी व्यवस्था र उपलब्ध स्रोत साधनले अपराधलाई सम्बोधन, अनुसन्धान, प्रक्रिया तथा प्रविधि बारेमा समय समयमा अध्ययन र समिक्षा हुनुपर्ने उनको भनाई छ ।

अपराध अनुसन्धानमा भइरहेका कामहरुको समिक्षा गर्दै सहभागी प्रहरी अधिकृतहरुलाई अझ परिस्कृत ढंगले काम सम्पादनमा उत्प्रेरित गर्ने विश्वास उनको छ ।

‘राजनीतिक परिवर्तनपछि राज्य व्यवस्थाप्रति नागरिकका अपेक्षा र महत्वाकांक्षा बढेकाले अपराध अनुसन्धान, अभियोजन र न्याय सम्पादन प्रक्रियामा नागरिक सहभागिता र निगरानी पनि बढेको छ,’ कँडेलले भने, ‘कसूरको प्रकृति र प्रबृत्ति फेरिएकाले अपराध अनुसन्धान अभियोजनलाई बैज्ञानिक र वस्तुगत प्रमाणमा आधारित बनाउन आग्रह गर्दछु ।’

नागरिकको भरोसाले मात्र समाजमा विश्वास र सहयोगको वातावरण सिर्जना गर्न सकिन्छ भन्ने विषयमा प्रहरी कर्मचारीले हेक्का राख्नुपर्ने उनले बताए ।

‘कामकारवाही जति धेरै नागरिक मैत्री बन्न सक्छन त्यति धेरै समाजबाट विश्वास र सहयोगको वातावरण सृजना हुन सक्दछ,’ कँडेलले थपे, ‘जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै विना बर्दीका सिपाही मानिने आम नागरिकको भरोसा जित्ने गरि काम गर्नुहोस् ।’

गोष्ठीमा १० वटै जिल्लाबाट प्रहरी अधिकृतहरु सहभागी छन् । प्रदेशको सुरक्षा चुनौती र समाधानका लागि थाल्नु पर्ने रणनीतिक विषयमा गोष्ठी केन्द्रीत हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया