कानूनी विवादमा परेका बालक बाँके पुर्याउदा झडप, तीन प्रहरी घाइते

सुर्खेत । कानुनी विवादमा परेका तीन जना बालकलाई ‘बाल सुधार गृह बाँके लिएपछि प्रहरीसँग झडप भएको छ । बैजनाथ गाउँपालिकास्थित बाँकेको नौवस्तामा रहेको बाल सुधार गृहमा सुर्खेतबाट लिएका तीन जना बालक राख्ने क्रममा प्रहरीसँग झडप भएको हो ।



‘सुर्खेतबाट ल्याइएको बालकहरुलाई बुझ्ने र बुझाउने प्रक्रिया थाल्दा सुधार गृहमा रहेका बालकहरुले प्रहरीलाई आक्रमण गरेछन्,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (प्रहरी उपरीक्षक) तुलबहादुर कार्कीले भने, ‘सुधार केन्द्रमा रहेका बालकहरुले प्रहरीमाथि आक्रमण गर्दा तीन जना प्रहरी घाइते भएका छन् । उनीहरुको अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।’

घटनामा संलग्न पाँच जना कानुनी विवादमा परेका बालकलाई थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको कार्कीले बताए । घटनाबारे विस्तृत अनुसन्धान शुरु गरिसकिएकोले त्यसपछि मात्रै थप कारण खुल्ने उनले जनाए । घटनापछि प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिएको प्रहरीको भनाई छ। बाल सुधार गृहमा अहिले २५७ जना कानुनी विवादमा परेका बालकहरु रहेका छन् ।

१८ वर्ष ननाघेका युवायुवतीलाई लक्षित गरेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको केन्द्रीय बाल न्याय समितिले सुधार गृह गत वर्षदेखि सञ्चालनमा ल्याएको हो। कर्णालीका १० जिल्लाका ९ कारागारमा समेत आमासँगै बालबालिका राख्ने गरिएको छ ।

उनीहरु कारागारमा आमासँगै आश्रित रहेका छन् । विभिन्न मुद्दामा कसुर प्रमाणित भई सजाय भोगिरहेका बालबालिकालाई राख्ने बाल सुधार गृह नहुँदा कर्णाली प्रदेशका बालबालिकालाई नेपालगञ्ज, भक्तपुर, पोखरा र धरानसम्म पनि पठाउने गरिएको छ। कर्णालीका १० जिल्लाका ३७ जना बालबालिका प्रदेश बाहिर छन् ।

तपाईको प्रतिक्रिया