एमाले बलियो भएमात्रै जनताका अपेक्षा पुरा हुन्छन् : अध्यक्ष देवकोटा

सुर्खेत । नेकपा एमाले सुर्खेतका जिल्ला अध्यक्ष कुलमणी देवकोटाले पार्टीलाई बलियो बनाउन सशक्त भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् । मंगलबारदेखि सुरु भएको नेकपा एमाले बराहताल गाउँपालिका स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष देवकोटाले पार्टीको नीति, बिधि र सिद्धान्तमा रहेर जनताको सेवामा समर्पित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।



एमालेलाई निर्णायक पार्टी बनाउन थालिएको तीन महिने वडा केन्द्रीत जरा अभियानलाई सफल बनाउँन गाउँ, वडा तथा टोल कमिटीलाई व्यवस्थित र सुदृढ बनाई सदस्यता नविकरणमा जुट्नुपर्ने देवकोटाको आग्रह थियो ।

पार्टीमाथि चौतर्फी हमला भइरहेको उल्लेख गर्दै अध्यक्ष देवकोटाले वार्षिक कार्ययोजना अनुरुप पार्टी सदस्यता नविकरणको अभियानको थालनी गरेर पाटीलाई बलियो बनाए मात्रै जनताका अपेक्षा पुरा हुने दावी गरे ।

केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले नेताहरुलाई जिल्ला र पालिका केन्द्रीत नभइ वडातहमा परिचालन हुन निर्देशन दिए । पार्टीलाई मजबुद बनाउँन विनास्वार्थ अभियानमा होमिनुपर्ने उनको भनाई थियो ।

प्रदेश कमिटी सचिव धुव्रकुमार शाहीले पार्टीले गरेका राम्रा कामको प्रचारमा नेता तथा कार्यकर्ताको ध्यान नपुगेको उल्लेख गर्दै शाहीले राम्रा कामको प्रचार र गलत कामको भणडाफोरमा उत्रनु पर्ने बताए ।

केन्द्रीय सदस्यसमेत रहेकी वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पार्टीका हरेक अभियानलाई सफल बनाउन एकतावद्ध हुनुपर्ने बताइन । पार्टीले थालेको जरा अभियानलाई सफल बनाएर आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउँन दृढ संकल्प आवश्यक रहेको बताइन ।

पालिका कमिटीले संगठित सदस्यता बढाउन भेला तथा प्रशिक्षण कार्यक्रमलाई सशक्त बनाएर लैजानु पर्ने बताइन । पार्टीको नीति, विधि र सिद्धान्तलाई सफल बनाउन ऐमालेजन गोलवद्ध हुनुपर्ने बताउँदै उनले बहुमत वडामा जित हाँसिल गरेपनि पालिकामा पराजय भोग्नु परेको दृष्टान्तलाई बदल्न नेतृत्वमा रहेकाहरु बढी जिम्वार हुनुपर्ने बताइन ।

जनताका अपेक्षा पूरा गर्न पार्टीलाई बलियो बनाउन आवश्यक रहेको ढकालको तर्क थियो । अरुलाई गाली गरेर नभई क्षमता देखाएर जनताको सेवा गर्न आवश्यक रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा पोखिएर देशलाई समृद्धिको बाटोमा लैजान नसकिने ढकालको दावी छ ।

जिल्ला पार्टी स्कुल विभागको संयोजन, बराहताल गाउँ कमिटीको व्यवस्थापन तथा स्कुल विभाग बराहतालको आयोजनामा मंगलबारदेखि सुरु भएको प्रशिक्षण बुधबारसम्म चल्ने छ । बराहताल गाउँपालिका–१०, को सलैनामा आयोजित प्रशिक्षणमा बराहताल गाउँ कमिटी र वडा कमिटीका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया