कालिकाेट । कालीकोटको लालुमा जन्मिएका योगी नर हरिनाथको १११ औं जन्मोत्सव मनाइएको छ । शनिबारदेखि कालीकोटको रहगाडमा योगी नरहरिनाथको जन्मोत्सवका अवसरमा सांस्कृतिक तथा खेलकुद महोत्सव आयोजना गरिएको छ ।

जन्मोत्सवको अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेत र काठमाडौंमा पनि पुस्तक विमोचन तथा विचार गोष्ठी आयोजना गरिएको कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले बताए ।

चार दिनसम्म कालीकोटमा सञ्चालन हुने महोत्सवमा स्थानीय कला, संस्कृति, भेषभूषा तथा देउडा खेलको आयोजना गरिएको नरहिरनाथ-९ का वडाध्यक्ष प्रदीप बोहोराले बताए । ७ वर्षदेखि योगी नरहिरनाथको जन्मोत्सव गाउँपालिकाको संयोजनमा हुँदै आएको छ ।
शनिबारदेखि सुरु महोत्सव उद्घाटनमा कालीकोट पुगेर कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले योगी नरहरिनाथ जन्मिएको पालिकालाई सडक सञ्जालसँग जोड्ने बताए । खुलालु हुँदै रामारोशन र बडिमालिका पर्यटकीय सडक तथा पदमार्ग, रहगाडमा बेलिब्रिज, कोटबाडा विमानस्थल सञ्चालन लगायतका वाचा उनले गरे ।

कर्णाली प्रदेशसभा सदस्य तथा काग्रेस संसदीय दलका सचेतक हिक्मतबहादुर विष्टले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणाको माग गर्दै प्रदेश गौरवको आयोजनाका रुपमा खुलालु, कोटवाडा सान्नी रास्कोट हुँदै लैफु सडक योजनामा बजेट वृद्धिको माग गरे ।
१९७१ फागुन १७ मा कालिकोटको लालुस्थित चाखा भडारीवाडामा जन्मिएका बलवीर सिंह थापा योग र साधनाको माध्यमबाट योगी नरहरिनाथ कहलिएका थिए । २०५१ फागुन १४ गते काठमाडौंको मृगस्थलीमा उनको निधन भएको थियो ।
५ सय ७३ पुस्तक लेखन गरेका योगीका हाल ३ सय ५९ कृति मात्र प्रकाशित छन् । उनी २७ भाषा बोल्न र प्रवचन दिन सक्ने योगी नरहरिनाथ अध्ययन प्रतिष्ठानका कालीकोटका अध्यक्ष समेत रहेका कर्णाली प्रदेश सदस्य विष्टले बताए ।

नेपाल कर्म । १९ फाल्गुन २०८१, सोमबार १६:४४