कर्णाली गरिब छैन, नीतिगत निर्माण दबाबमा बल नपुगेको हो : सचिव भट्ट

सुर्खेत । नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले कर्णाली गरिब नभएको तर, नीतिगत निर्माण दबाबमा बल नपुगेको बताएका छन्। कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाएसँगै पहिलो पट्क प्रदेश कमिटीको बैठकमा सहभागीहुँदै भट्टले यस्तो बताएका हुन्।



सोमबार भएको प्रदेश कमिटीको पाचाैँ पूर्ण बैठकमा बोल्दै सचिव भट्टले कर्णालीको भूगोलमा प्राप्त स्रोत साधनको प्रयोगमा ल्याउने नितीगत निर्माणमा जोड दिई पार्टीकै भूमिकाले सम्भव हुने बताए। उनले भने, ‘कर्णाली गरिब छैन। हाम्रो नीतिगत निर्माण दबाबमा बल नपुगेको हो। श्रमजीवी वर्ग समुदायको पक्षमा प्रदेशको बजेटले किन प्राथमिकता पाएन, ती कुरा जनताकोबीचमा गएर बुझाऔँ।’

यस्तै, सचिव भट्टले पार्टीको विचार, नीति, सिद्धान्त र विधीमाथि भईरहेको हमेलालाई परास्त गर्न मिसन ग्रासरुट सम्पन्न गर्दै जनसरोकारका विषयहरु शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकतामा राखेर पार्टीको विचारसहित संगठन निर्माणमा जुट्नुपर्ने बताए।

उनले भने, ‘जसले पार्टीको काममा कमीकमजोरी बुझेर आत्माआलोचना गरेर मबाट हामीमा रुपान्तरण हुन्छ ऊ पार्टी असल नेता हो। अनौपचारिक जनवादको अभ्यास गरौ, अन्तरविरोध हुनै पाउँदैन्।’

साथै उनले बैठकमा सहभागीहरूलाई सामूहिक रुपमा एकतावद्व भएर काम गरेपछि अवश्य पनि सफलता प्राप्त हुने विश्वास व्यक्त गरे।

यस्तै, प्रदेश कमिटीको बैठकले नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशन २०८० भदौ २९ र ३० मा सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया