सुर्खेत । सुर्खेतमा बिहीबार दिउँसो भएको फोर्स गाडी दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ। दैलेखको दुल्लुबाट सुर्खेत सदरमुकाम वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते सुर्खेतकी भावना लामिछानेको मृत्यु भएको हो।

कर्णाली राजमार्गको वीरेन्द्रनगर–२ घोडालोटेमा भएको दुर्घटनामा घाइते बराहताल गाउँपालिका–५ सुर्खेतका २८ वर्षीय लामिछानेको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए ।

उनकाअनुसार माया नर्सिङ होममा उपचार गराइराख्नु भएकी लामिछानेको थप उपचारका लागि प्रदेश अस्पताल रिफर गरिएको थियो । मानसिक परामर्श सम्बन्धीकाे कार्यक्रममा सहभागी हुने वीरेन्द्रनगर आउँदै गरेका भावनासहित बड्डीचाैरबाट साेही ठाउँकी ४२ वर्षीय मनिषा लामिछाने र ३३ वर्षीय सुनिता रिजालले गाडी चढेका थिए ।

मनिषा र रिजालसमेत घाइते छन् । उनीहरूकाे अवस्था सामान्य रहेकाे र प्रदेश अस्पतालमा उपचार भइरहेकाे प्रहरीले बताएकाे छ । दुर्घटनामा घाइते हुनेमा दुल्लु नगरपालिका–२ का ४३ वर्षीय दिलु भण्डारी, २१ वर्षीय भगवती थापा, २० वर्षीय डिलबहादुर शाही र दुल्लु नगरपालिका–४ का २२ वर्षीय कमल बिश्वकर्मा घाइते छन् । उनीहरुको कर्णाली केयर अस्पताल मुलपानीमा उपचार भइरहेको छ ।
यस्तै, दुल्लु नगरपालिका– ४ का २९ वर्षीय मिनराज पाण्डे, ३९ वर्षीय उपेन्द्र खड्का, २८ वर्षीय नारायणप्रसाद उपाध्याय, ३६ वर्षीय पूर्णबहादुर विककाे प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुल्लु नगरपालिका–३ का ३७ वर्षीय खगेन्द्रबहादुर शाही, ३० वर्षीय सुस्मिता गौतम, १० वर्षीय ईभान जेलिना कार्की र वीरेन्द्रनगर–५ सुर्खेतका ३७ वर्षीय इन्द्रा कार्की घाइते छन् । उनीहरुको माया नर्सिङ होममा उपचार भइरहेको छ ।

नेपाल कर्म । १५ फाल्गुन २०८१, बिहीबार १७:२५