सुर्खेत । कर्णालीमा पशु व्यवसायमा राम्रो उन्नतिका लागि पशुमा गरिने कृत्रिम गर्भाधानलाई व्यवस्थित गर्न तरल पदार्थ (विर्य) भण्डारण प्लान्ट निर्माण शुरू गरिएकाे छ । वीरेन्द्रनगरको पशुपन्छी विकास निर्देशनलायमा परिसरमा भवन निर्माणका लागि साेमबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनाेद शाहले शिलान्यास गरेका हुन् ।

कृत्रिम गर्भाधानबाट उत्पादनमा वृद्धि हुने र कृषकहरुको आयस्तर बढ्ने भएकाले आफ्नै कार्यालय मन्त्रालयले खडा गर्न लागेको हो । यसका लागि चार करोड ८५ लाख बजेट विनियोजन गरिएको छ ।
मन्त्रालय मातहतको कार्यालय पशुपन्छी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको परिसरमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापनाका लागि भवन निर्माण कार्य सुरु भएको छ । प्लान्ट स्थापनापछि गाई, भैँसीको नश्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन गर्ने उद्देश्य पुरा हुने विश्वास मन्त्रालयकाे छ ।

प्लान्टले विर्य राख्ने तरल पदार्थ उत्पादन गर्नेछ । प्रविधिको विस्तारसँगै गाईभैंसीको नश्ल सुधारको लागि उन्नत राँगो साँढेको जमेको वीर्यबाट कृत्रिम गर्भाधान कार्यलाई विस्तार गर्न प्लान्ट निर्माण गर्न लागिएको मन्त्री विनाेद शाहले जानकारी दिए ।
‘प्रशोधित जमेको वीर्यका स्ट्रहरु संरक्षण तथा भण्डारणका लागि नभई नहुने अति आवश्यक वस्तु तरल पदार्थ नाइट्रोजन बाहिरबाट आपूर्ती गर्नुभन्दा यहीँदेखि कृत्रिम गर्भाधान केन्द्रहरुमा वितरण गर्ने लक्ष्य छ,’ मन्त्री शाहले भने, ‘कर्णालीमा प्लान्टले तरल नाइट्रोजन उत्पादनपछि पशुहरुमा गरिने कृत्रिम गर्भाधान कार्यलाई विस्तारले दुध उत्पादनमा वृद्धि र कृषकको आयस्तर बढ्नेमा विश्वास छ ।’

कृत्रिम गर्धाभानले दुध उत्पादनमा वृद्धिसँगै कृषकहरुको समय बचत र नश्ल सुधारसँगै पशुको स्वास्थ्यमा हुने फाइदाका पुग्नेछ । राम्रो नश्लको भालेवाट संकलन गरिएको विर्य भाले खोजेको पोथी पशु (गाई, भैंसी) आदिलाई ठिक समयमा गर्भाशयको ठिक ठाउंमा कृत्रिम तरीकाबाट राखी गर्भाधान गराउने प्रकृयालाई कृत्रिम गर्भाधान हाे ।
दुध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधानद्वारा नश्ल सुधार प्रभावकारी मानिन्छ । मन्त्रालयले गत आर्थिक वर्षमा ४० लाखका विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम अगाडी बढाएको थियो ।
प्रदेशमा तरल नाइट्रोजन प्लान्ट स्थापनाबाट प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउन लगायत उन्नत जातका पाडा-बाच्छा उत्पादनमा टेवा पुग्नेछ । प्रदेश बाहिरबाट आयत गर्दै आएको पशुको वीर्य कर्णालीमै तरल नाइट्रोजनको स्थापनापछि पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधान नश्ल सुधारका लागि सहज हुनेछ ।

नेपाल कर्म । १२ फाल्गुन २०८१, सोमबार १७:००