सुर्खेत । सरकारको स्वामित्वमा रहेको वायुसेवा निगमले ८ मार्च २०२३ मा इतिहासमै पहिलो निर्णय लियो । सो दिन निगमको राष्ट्रिय ध्वजावाहक आरए २३० उडान नम्बरको विमान दुबईबाट काठमाडौंका लागि उड्ने तयारीमा थियो । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तय भएको त्यो दिन किन पनि महत्त्वपूर्ण थियो भने, त्यस विमानको ककपिट र क्याबिन क्रुमा सबै महिला थिए ।

उडानमा पाइलट भावना गिरी पन्त, को–पाइलट सिर्जना रावत, आईएफएस बास्ना राना, फ्लाइट पर्सर अन्जक महर्जन, एयर होस्टेस सङ्गीता केसी र अनिशा प्रजापतिले सकुशल विमानलाई स्वदेश ल्याएर महिलाको नाममा इतिहास रचेका थिए ।

सकुशल विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान अवस्थलमा अवतरण भएपछि त्याे बेला नै नागरिक उड्ड्यन मन्त्री सुदन किराती र प्राधिकरणका प्रमुखले स्वागतसहित बधाइ दिएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे धावनमार्ग छाडेर जहाजको कमान्ड सम्हालेर दुबई पुगेका महिला चालक दलका सदस्यलाई गैरआवासीय नेपाल संघले स्वागत गरेको थियाे ।
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छुट्टाछुट्टै बाेलाएर बाँकी उडान यात्रा सफलहाेस् भन्दै बधाइ नै दिएका थिए ।
विमानको को–पाइलट सिर्जना रावत कर्णालीको प्रतिनिधित्व गरेकी उनै साहसी महिला थिइन्, जो उनीभन्दा पहिला कर्णालीबाट आकाशमा उड्ने हिम्मत अरु महिलाले राखेका छैनन् । रोग, भोक र गरिबीको लघुताभाषले थिचिएको कर्णालीको प्रतिनिधित्व गर्दै सिर्जनाले देश तथा विदेशमा आफ्नो नाम मात्रै राखेकी छैनन्, कर्णालीको नामसमेत रोशन गरिरहेकी छन् ।
सुर्खेतको वीरेन्द्रनगर– ६ की सिर्जना सम्भवतः कर्णाली प्रदेशको पहिलो महिला विमानचालक हुन्, जसले ३५ देखि ३८ हजार फिटमा जहाज उडाइरहेकी छन् । एसएलसी दिँदै पाइलट बन्ने सपना बुनेकी सिर्जनालाई उनको मिहिनेत, परिवारको सहयोग र साथीभाइको हौसलाले सपना पूरा गर्न मद्दत गर्यो ।

उनै सिर्जनाले बुधबार कर्णाली उत्सवको छैटौँ संस्करणमा आफ्नो पाइलट यात्राको कथा सुनाइन् । सिर्जना २०६३ सालमा एसएलसीमा सहभागी भएकी थिइन् । एसएलसी दिएसँगै जहाज उडाउने सपना बुनेकी सिर्जनाले एसएलसीमा टप नम्बर ल्याउन सफल भइन् ।
‘एसएलसी दिँदै गर्दा विमानचालक बन्ने सपना बुनिसकेकी थिएँ, एसएलसीपछि म काठमाडौं पढ्न गएँ,’ उनले भनिन्, ‘भाग्यवश मेरो जन्म छोरीलाई पढाउनुपर्छ भन्ने परिवारमा भयो, मेरो रहर पूरा गर्न बुवाआमाले पढाउनुभयो र सपना पूरा गरेँ । काठमाडौंको बसाइका क्रममा प्लस टु गरिसकेपछि सिर्जना तालिम लिन साउथ अफ्रिका गइन् । त्यहाँ उनले सफलतापूर्वक विमानचालकको तालिम पूरा गरिन् ।
विमानचालकको तालिम पूरा गर्दा आफूले जीवनको ठूलो खुसी प्राप्त गरेको महसुस भएको सिर्जना बताउँछिन् । ‘पाइलट भएँ भनेर म अत्यन्त खुसी थिएँ, मेरो परिवार र समाज पनि अति खुसी थियो,’ उनी भन्छिन्, ‘तालिम पूरा गरे पनि मैले जहाज उडाउन भने निकै संघर्ष गर्नुपर्यो, हरेक दिन म र बुबा फाइल बोकेर धेरै वायुसेवा कम्पनीमा धाउनुपर्यो ।’
काम नपाएपछि उनी सुर्खेत फर्किएर स्नातक पढ्न थालिन् । उनले स्नातक तह पूरा गर्ने अन्तिम चरणमा हुँदा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले पाइलटका लागि विज्ञापन खोल्यो । दुई सय जना पाइलट प्रतिस्पर्धामा थिए ।
लोकसेवाले लिएको पाइलटको परीक्षामा सिर्जना सफल भइन् र निगमबाटै एयरबस उडानको तालिम लिन इन्डोनेसिया पुगिन् । इन्डोनेसियामा दुई महिनाको तालिम पूरा गरेर उनी नेपाल फकिइन् । आफूले जीवनमा चाहेको कुरा ढिलै भए पनि प्राप्त गर्न सफल भएको उनले बताइन् ।
उनको विमानचालकको अनुमतिपत्र अनुमोदन नहुँदै कोभिड महामारी सुरु भयो । महामारीका कारण भएको लकडाउनलाई सदुपयोग गरेर उनले स्नातकोत्तर गरिन् । उनले वायुसेवा क्षेत्रकै व्यक्तिसँग विवाह गरेकी छन् । ‘कुनै बेला मेरा केही देशहरू सपनाको संसार हुन्थे, ती देशहरू अहिले आफ्नो कामको सिलसिलामा पुग्न पाएको छु,’ सिर्जना भन्छिन्, ‘उड्डयन क्षेत्र यस्तो फिल्ड हो, जसको कार्यालय आकाशमा हुन्छ । ३५ देखि ३८ हजार फिट माथि आकाशमा खाना–खाजा खाने अनुभूति मैले गरिरहेको छु । यसमा म खुसी छु ।’
आफ्नो उडानका क्रममा कर्णाली क्षेत्रबाट जाने यात्रु भेटिँदा उनीहरूले आफूप्रति देखाउने माया र कदरले थप हौसला मिल्ने गरेको मीठो अनुभव उनीसँग छ । कर्णालीका महिलाबारे सिर्जना भन्छिन्, ‘आगामी दिनमा कर्णालीका अरु चेलीहरू पनि मजस्तै सक्षम भएको देख्न चाहन्छु । कर्णालीका नारीहरू सक्षम छन् भनेर देखाउने अवसर राज्य र समाजले देओस् ।’

नेपाल कर्म । १० फाल्गुन २०८१, शनिबार ०७:४६