देउती नागरिक यातायातले कर्णालीमै पहिलो सिलिपर सोफा बस भित्र्याउँदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट रात्रिकालिन बसहरु छुटाउदै आएको देउती नागरिक यातायात प्रा.लि.ले सिलिपर सोफा गाडीबाट सेवा सुरुवात गर्न लागेको छ ।



डिलक्स, सुपर डिलक्स बसहरुबाट सुर्खेत–काठमाडौं रुटमा सेवा दिँदै आएको देउती नागरिकले अबदेखि प्रदेशकै पहिलो सुतेर यात्रा गर्न सकिने बसहरु भित्र्याउन लागेको हो ।

यात्रुहरुको बढ्दो माग र चाहनाअनुसारकै सिलिपर बसबाट सेवा आरम्भ गर्न लागिएको देउती नागरिक यातायात प्रा.लि.का सचिव रमेश खड्काले जानकारी दिए ।

‘आगामी चैतमा सञ्चालने हुने तयारीमा रहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेरसमेत ति बस सञ्चालन गर्ने तयारीमा छौं,’ खड्काले भने, ‘विरगञ्जमा गाडी निर्माणकै क्रममा रहेकाले फागुन अन्तिमसम्ममा वीरेन्द्रनगर आइपुग्ने छन्, त्यसपछि सेवा सुरु गर्नेछौं ।’

अगाडी सोफा सिट राखिने र पछाडी चार जना सुत्न मिल्नेगरी सिलिपर सिट रहने खड्का बताउँछन् । चार ओटा बस भित्र्याउन लागेको प्रा.लि.ले चैत पहिलो सातादेखि सुर्खेत–काठमाडौं–सुर्खेत रुटमा बस सञ्चालन गर्ने तयारी गरेको छ । एक बसको मूल्य लागत एक करोड २० लाख रहेको खड्काले बताए ।

प्रा.लि.ले आफ्नो समितिबाट छुट्ने बसहरुबाट काठमाडौं जाने यात्रुहरुका लागि अनलाइन टिकट काट्ने व्यवस्था गरेको छ । यात्रुहरुले घरबाटै काठमाडौं जाने वा सुर्खेत फर्कने यात्रुहरुका लागि बुकिङ अनलाइनबाट व्यवस्था गरिएको प्रा.लि.ले जनाएको छ ।

तपाईको प्रतिक्रिया