सुर्खेत । मदन भण्डारी राजमार्गको सुर्खेत खण्डको काम सकिने संघारको क्रममै रहेको बेला काठमाडौं जाने रात्रीकालिन बस छोटो दुरीबाट छुटाउन थालिएको छ ।धुलियाविट–गुमी–भेडावारी सडकको निर्माणको अन्तिम चरणमा पुगेपछि मध्यपश्चिम यातायात सेवा प्रा.लि.ले काठमाडौंका लागि रात्रीकालिन बस छुटाउन थालेको हो ।

मदन भण्डारी राजमार्गको धुलियाबिट–गुमी–भेडावरी खण्ड ३५ किलोमिटर छ । योमध्य हालसम्म २५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । गंगटे खोलादेखि धुलियाविट खण्डको झण्डै १० किलोमिटर सडक निर्माणको अन्तिम चरणमा छ । मध्यपश्चिमले काठमाडौंका जाने बस धुलियाबिट–गुमी–जहरे–बोटेचौर–मालारानी भएर काल्चे–तुलसीपुर–लमहीको रुटबाट रात्रीकालिन बस छुटाउन थालेको छ ।

यसअघि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–छिन्चु, बोटेचौर–तुलसीपुर–लमही सडकबाट गाडी छुटाउने गरेको थियो । सल्यानको कालिमाटी खण्डको झण्डै १० किलोमिटर सडक कालोपत्रेका लागि बेश विछ्याएपछि नियमित रुपमा दैनिक एउटा बस सुर्खेतबाट छुटाउँदै आएको मध्यपश्चिम यातायात सेवा प्रा.लि. सुर्खेत बसपार्कका इन्चार्ज पवन श्रेष्ठले नेपालकर्मलाई जानकारी दिए ।
‘सुर्खेत–कोहलपुर–लमहीभन्दा दुरीको हिसाबले सुर्खेत–बोटेचौर–तुलसीपुर–लमही रुट झण्डै ५० किलोमिटर छोटो रहेछ,’ श्रेष्ठले भने, ‘सडकको अवस्थामा सुधार भएकाले पूर्वी सुर्खेतका नागरिकलाई काठमाडौंसँगको यात्रा सहज बनाइदिन नियमित बस छुटाउँदै आएका हौं ।’
सुर्खेत–कोहलपुर–लमहीको दुरी १९४ किलोमिटर छ । गुमी भएर छोटो सडकबाट रात्रकालिन बस काठमाडौं छुट्न थालेपछि स्थानीय खुसी छन् । बस चढ्न बोटेचौर, मेहलकुना, जहरे र छिन्चु जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

घर आगनबाटै बस काठमाडौंका लागि छुट्दा यात्रामा धेरै राहत भएको स्थानीय बताउँछन् । सल्यानको कालिमाटी र दाङको बबई गाउँपालिकामा पर्ने केही खोलामा पुल निर्माण भए सुर्खेतबाट काठमाडौं र पूर्वी जिल्लाहरुमा जाने सवारीलाई सुर्खेत–बोटेचौर–तुलसीपुर–लमही सहज मार्ग भएको व्यवसायीहरुले बताउँदै आएका छन् ।
कालिमाटीको डिमुरे, सोती र बबई गाउँपालिकाको राजी खहरे खोलामा पुल बन्न बाँकी छ । यीमध्य डिमुरे खोलाले वर्षातमा दुःख दिने गरेको स्थानीय चिन्तामणि खराल बताउँछन् ।
‘सल्यानमा थोरै क्षेत्रमा सडक कालोपत्रे गर्न बाँकी छ, दाङ खण्डको सडकमा खासै समस्या छैन,’ बरालले भने, ‘वर्षातमा डिमुरे खोलामा बाढी आएमा एक दुई दिन नै सवारी रोकिनुपर्ने बाध्यता छ । अन्य समयमा बाह्रै महिना सवारी सञ्चालनमा कुनै अवरोध छैन् ।’
सुर्खेत–बोटेचौर–तुलसीपुर–लमही सडकमा दैनिक ३० बढी साना ठूला सवारीहरुले सञ्चालन भइरहेको बरालले जानकारी दिए । जाजरकोट र डोल्पाबाट काठमाडौं जाने बसहरु नियमित रुपमा यहीँ सडक भएर छुट्ने गरेको बराल बताउँछन्।

नेपाल कर्म । ५ फाल्गुन २०८१, सोमबार १९:०५