दैलेखकाे राकम कर्णालीमा किन बनाइदैछ ‘स्याटेलाइट’ अस्पताल ?

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले दैलेखको राकम कर्णालीमा ५० शय्याको स्याटेलाइट अस्पताल संचालन गर्ने भएको छ । राकममा यसअघि नै प्रतष्ठिान मातहत अस्पताल संचालनको पहल भइरहेको थियो ।




संघीय मन्त्रिपरिषद्ले सोमबार राकम कर्णालीमा रहेको आधारभूत अस्पताललाई प्रतिष्ठान मातहत सञ्चालन गर्ने निर्णय गरेसँगै राकममा ५० शय्याको अस्पताल बन्ने भएको हो ।

कर्णाली र सुदूरपश्चिमका झण्डै ९ लाख जनसंख्याले सेवा लिन सक्ने सम्भावना बोकेको राकम कर्णालीमा प्रतिष्ठान माताहत अस्पताल सुरु हुने निर्णयले राकम स्थानीय उत्साहित छन् । कालीकोट, दैलेख, बाजुरा, बझाङ, अछाम, हुम्ला र मुगुका बिरामी राकम अस्पताल लैजान सहज हुनेछ ।

अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गरेर गुणस्तरीय सेवा उपलब्ध गराउन सके सुर्खेतबाट समेत उपचारका लागि राकम आउने वातावरण बनाउने लक्ष्य प्रतिष्ठानको छ ।

‘तत्काल आधारभूत अस्पताल स्तरवृद्धि गरेर ५० शय्याको चलाउने योजना छ,’ प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने, ‘अस्पतालबाट स्वास्थ्य सेवा मात्र नभइ शिक्षा र अनुसन्धानका क्षेत्रमा पनि काम हुनेछ ।’ सरकारको पछिल्लो निर्णयले कर्णालीको स्वास्थ्य, शिक्षा र अनुसन्धानका क्षेत्रमा सकारात्मक सन्देश दिएको उपकुपति डा. रावलले बताए ।

आठबिस नगरपालिका–४ राकम कर्णालीमा आधारभूत अस्पतालको सम्पूर्ण व्यवस्थापन र संचालनको जिम्मेवारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाएको हो । यहाँ आधारभूत अस्पताल भवन निर्माण कार्य अन्तिम चरणमा छ । अब सक्दो चाँडो ५० शय्याको अस्पतालबाट सेवा संचालन गर्ने प्रतिष्ठानले जनाएको छ ।

कर्णाली राजमार्गको छेउमै रहेको यो अस्पतालले स्थानीय र यात्रुले स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने प्रतिष्ठनाका रजिष्टार नृपेन्द्र महतले जानकारी दिए । ‘पिछडिएका जनताको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बनाउन यो एक महत्वपूर्ण कदम हो,’ रजिष्टार महतले भने, ‘अब यो सञ्चालनको निम्ति तीनै तहका सरकारले साथ दिनुपर्ने हुन्छ ।’ यसले राकम कर्णालीलाई चिकित्सा शिक्षा र सेवाको केन्द्र बनाउन र कर्णालीको स्वास्थ्य सेवामा परिवर्तन ल्याउने उनले बताए ।

प्रतिष्ठानले अहिले जुम्लामा ३ सय शय्याको अस्पताल चलाइरहेको छ । प्रतिष्ठानको जुम्लामै डक्टरी पढाइ भइरहेकोले यहाँ उत्पादित जनशक्तिले कर्णालीकै अस्पतालमा काम पाउने छन् । २०६८ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएसँगै अहिले डक्टर उत्पादन गरेर देशैभर स्वास्थ्य जनशक्ति पठाउने कर्णालीले थालिरहेको छ ।

तपाईको प्रतिक्रिया