
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुदको माध्यमबाट खेलाडीले देशलाई चिनाई रहेको बताएका छन् । शुक्रबार १६ औं सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कम स्रोत र साधनबीच खेलाडीहरुले आफ्नो मेहनतले देशलाई नै विश्वसामु चिनाएको उल्लेख गरे ।

विद्यालयमा रहेका हरेक विद्यार्थीहरुलाई खेलकुदका माध्यमबाट असल नागरिक बनाउन सकिने उल्लेख गर्दै उनले खेलकुदलाई महत्वका साथ हेर्नुपर्ने बताए । खेल क्षेत्र लगायतका अन्य क्षेत्रको विकास गर्न जनतादेखि राजनीति दल मिल्नुको विकल्प नभएको मुख्यमन्त्री कँडेलको भनाई थियो ।


यस्तै, उद्घाटन सत्रमा बोल्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि अनवरत पहल भइरहेको बताए । खेलाडीको जीवन रक्षाका निमित्त आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी कर्णालीका सबै खेलाडीहरूको बीमा प्रदेश सरकारले गरिदिने प्रतिवद्धतासमेत मन्त्री मण्डारीले जनाए ।
दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट निर्णय भएको जानकारी गराउँदै मन्त्री भण्डारीले तोकिएकै मितिमा दशौं राष्ट्रिय खेलकुद आयोजना हुनेमा विश्वास व्यक्त गरे ।
नेपाल कर्म । ३ फाल्गुन २०८१, शनिबार ०७:२६