सुर्खेत । विकासका हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यसँग जोड्ने गरेका छन् । ‘साउथ एन्ड नर्थ एक्सिस गोर्थ’ का रूपमा लिइएको कर्णाली कोरिडोरले नेपाल, चीन र भारत जोड्ने छ ।
यो राजमार्ग चीनको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि बाँकेको भारतसँग सिमाना जोडिएको जमुनाह नाकासम्म विस्तार हुनेछ । कर्णाली करिडोर नामकरण गरी ट्र्याक खोल्न थालिएको २३ वर्ष भएको छ । नेपालमा राष्ट्रिय सडक सञ्जालले नजोडिएको एउटै जिल्ला हो हुम्ला ।


सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा हरेक वर्ष हुम्लामा सडक पु¥याउने लक्ष्य राख्ने गरिन्थ्यो । २०५४ सालमा हुम्लामा भोकमरीसँगै फैलिएको भाइरल इन्फुन्जाबाट करिब ५० स्थानीयले ज्यान गुमाएपछि तत्कालीन जिल्ला विकास समितिले चीनसँग सडक जोड्ने योजना बनाएको थियो ।
सडक सुविधा नहुँदा स्थानीय उत्पादित बस्तुले बजार पाउन सकिरहेको थिएन भने दैनिक उपभोग्य सामान सुर्खेत र नेपालगञ्जबाट जहाजदेखि ढुवानी गर्दा महंगो पर्दा सडक अवधारणा अघि बढाइएको हो ।
२०५७ सालमा नेपाल सरकारका तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले कर्णाली कोरिडोरको कालिकोटको खुलालुबाट शिलान्यास गरिसकेको थिए । तत्कालिन जिल्ला विकास समितिले अघि सारेको सडक योजनालाई सरकारले १२ वर्षपछि अर्थात् २०६९ सालमा हुम्ला सदरमुकामलाई सडक सञ्जालमा जोड्न कार्यालय स्थापना गरिएको थियो ।
हिल्सा–सिमकोट सडक आयोजना कार्यालय हुम्लामा स्थापना गरेर कर्णाली कोरिडोर नामाकरण गरी योजना अगाडी बढाइएको हो । झण्डै ११ वर्षपछि ३१ असार २०८० मा हुम्ला सदरमुकाम सिमकोटमा सडक सञ्जालमा जोडिएको छ ।
हुम्लाको लालिबगर–छहारे–लिप्चे सडकको कठिन छहारे भिर नेपाली सेनाले काटेपछि राष्ट्रिय सडकसँग सिमकोट जोडिएको कर्णाली कोरिडोर उत्तर खण्ड (हिल्सा–सिमिकोट) सडक योजनाले जनाएको छ । सेनाले औपचारिक रुपमा सडक निर्माण सकेर २९ मंसिर २०८१ मा योजना कार्यालयलाई हस्तान्तरण गरिसकेको छ ।
त्रिदेशीय जोड्ने हिल्सा जोड्ने सडकको शुरुवाती विन्द नेपाल–भारत सीमाना जमुनाह नाका हो । जमुनाह–हिल्सासम्मको कुल लम्बाई पाँच सय पाँच किलोमिटर छ । कालिकोटको खुलालु–बाजुराको पिलुचौर–सिमकोट हिल्सा चीन सीमासम्म सडकको दुरी दुई सय ६९ किलोमिटर हो ।
एक सय २३ किलोमिटर अहिले कर्णाली करीडोर दक्षिण खण्ड (खुलालु–सल्लिसल्ला) सडक योजना कोल्टी बाजुरा र सल्लीसल्ला–सिमकोट हिल्सा सडक एक सय ४६ किलोमिटर कर्णाली करीडोर उत्तर खण्ड (हिल्सा–सिमकोट–सल्लिसल्ला) सडक योजना हुम्लाको क्षेत्राधिकार हो ।
दक्षिण खण्डको खुलालु पिलुचौरको ६० किलोमिटर सडक गत वर्ष नै झण्डै २० करोडमा ठेक्का व्यवस्थापन गरेर काम जारी छ । चालु आर्थिक वर्षमा स्रोत सुनिश्चित गरेर पिलुचौर–कुवाडी (बाजुरा खण्ड) र कुवाडी–तुमचौर (हुम्ला खण्ड) को ५० किलोमिटर सडक निर्माणका लागि चार अर्बको ठेक्का आह्वान गरिएको कर्णाली कोरीडोर दक्षिण खण्ड (खुलालु–सल्लिसल्ला) सडक योजना कोल्टी बाजुराका इन्जिनियर पंकज सिंह धामीले जानकारी दिए ।

‘ग्राभेल, सडक चौडा, नाला निर्माणका कामहरु खुलालुदेखि भइरहेको छ,’ धामीले भने, ‘पिलुचौर–तुमचौर खण्डको काम सक्न दुई ओटा बहुवर्षिय ठेक्का आह्वान गरिसकेका छौं, अबको तीन महिनामा सबै प्रक्रिया सकेर निर्माण व्यवसायीलाई काममा खटाउँछौं ।’
बाजुराको पिलुचौर–कुवाडी २३.७ र कुवाडी–तुमचौर २६.३ किलोमिटर सडक कालोपत्रे गर्नेगरी ठेक्का व्यवस्थापन गरिएको छ । बहुवर्षे ठेक्काबाट सम्झौता गरिएको मितिदेखि तीन वर्षमा काम सक्ने लक्ष्य राखिएको इन्जिनियर धामी बताउँछन् ।
पिलुचौर–तुमचौर खण्डको सडकमा नाला निर्माण, सडक चौडा, ग्राभेल जस्ता कामहरु सञ्चालन गरिनेछ । कठिन भीरमा ५.५, अन्य क्षेत्रमा ७.७५ र बजार क्षेत्रमा ९ मिटरसम्म सडक कालोपत्रे गरिने इन्जिनियर धामीको भनाई छ ।
‘खुलालु–पिलुचौरसम्मको सडक कालोपत्रेका लागि बजेट माग गरिसकिएकाले चालु आर्थिक वर्षमै ठेक्का व्यवस्थापन हुनेमा विश्वस्त छौं,’ धामीले थपे, ‘माथिल्लो खण्डमा निर्माणको गति बढाउँदै जाने र खुलालुबाट स्तरोन्नति गरिएको सडक कालोपत्रे गर्दै आउने लक्ष्य कार्यालयको छ ।’
कर्णाली करीडोर उत्तर खण्ड (हिल्सा–सिमकोट–सल्लिसल्ला) योजना कार्यालयमा यो वर्ष ३४ करोड बजेट विनियोजन छ । गत वर्षदेखि सिमकोट हिल्सा खण्डमा सडक स्तरोन्नति कार्य शुरु गरिसकिएको छ ।
ग्राभेल, ग्याभिन वाल, नाला निर्माणको काम जारी रहेको कार्यालयले जनाएको छ । यो वर्ष बाँकी खण्डमा सडक स्तरोन्नति लगायतका काम गर्नेगरी विभिन्न प्याकेजमा काम गर्ने योजना छ ।
चार पुल निर्माण गरिदै, तीन पुलको डीपीआर
खुलालु सिमकोट सडक खण्डमा अहिले चार ओटा पुल निर्माणको क्रममा छन् । तागरु खोला, हेप्पा खोला, एंगर खोला र खार्पुनाथ नदीमा आरसीसी स्टिल व्रिजको प्रक्रिया थालिएको छ । मुख्यगरी खार्पुनाथ खोलामा पक्की पुल निर्माणपछि सिमकोट–सुर्खेत सिधा सवारी आवागमन हुनेछ ।
खार्पुनाथमा अहिले बेलिव्रिजको प्रक्रिया अघि बढाइएकाले लगत्तै आरसीसी स्टील ब्रिजको ठेक्का गर्ने तयारीमा रहेको कर्णाली कोरिडोर उत्तर खण्ड (हिल्सा–सिमकोट–सल्लिसल्ला) सडक योजना कार्यालय हुम्लाले जानकारी दिएको छ ।
बाजुराको बान्दु र पहिमा खोला र हुम्लाको मकै खोलामा नयाँ पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन लागिएको कर्णाली कोरीडोर दक्षिण खण्ड (खुलालु–सल्लिसल्ला) सडक योजना कोल्टी बाजुराले जनाएको छ ।
आरसीसी पुल निर्माणका लागि यहीँ वर्ष कार्यालयले डिपिआर बनाउने तयारी गरेको इन्जिनियर धामी बताउँछन् । ‘वर्षात्मा खोला बढेमा एक दुई दिन सवारी रोकिनुपर्ने अवस्था छ,’ धामीले भने, ‘दीर्घकालिन रुपमा सहज सवारी आवागनका लागि पुल निर्माणको आवश्यक प्रक्रिया अघि बढाउने तयारीमा छौं ।’

सुशील खड्का । ३ फाल्गुन २०८१, शनिबार ०७:२४