सुर्खेत । राष्ट्रिय प्राकृत स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्य सम्पादन मुल्यांकनको नतिजा सार्वजनिक गरेको छ । हरेक वर्ष स्थानीय तहको कार्य सम्पादन मुल्यांकन सार्वजनिक गर्दै आएको आयोगले आर्थिक वर्ष २०८०-०८१ को नतिजा सार्वजनिक गरेको हो ।

पाँच नगरपालिका र चार गाउँपालिका रहेको सुर्खेतमा कार्य सम्पादन मुल्यांकनमा गुर्भाकोट नगरपालिका पहिलोहुँदा कर्णाली प्रदेशको राजधानीको नगरपालिका वीरेन्द्रनगर तेस्रो भएको छ ।
चौकुने गाउँपालिकाभन्दा कमजोर अंक पञ्चपुरी नगरपालिकाले ल्याउदा सबैभन्दा अन्तिममा बराहताल गाउँपालिका छ । प्राप्त अंकमा गुर्भाकोट नगरपालिकाले ६९.९ अंकसहित पहिलो बनेको छ ।

दोस्रोमा रहेको लेकवेशी नगरपालिकाले ६३.५ र वीरेन्द्रनगरले ५९.७ अंकसहित तेस्रो नम्बरमा रहेको छ । चौथो नम्बरमा रहेको चौकुने गाउँपालिकाले ५४.३, पाँचौमा भेरीगंगा नगरपालिकाले ४७.४, छैटौंमा सिम्ता गाउँपालिकाले ४७ अंक पाएको छ ।
सातौंमा रहेको चिंगाड गाउँपालिकाले ४३.२ र आठौमा पञ्चपुरी नगरपालिकाको ४१.३ अंक रहेको छ । बराहताल गाउँपालिकाको अंक ३८.२ रहेको छ । आयोगले कार्य सम्पादन मुल्यांकनका लागि १७ वटा सुचक तोकेको छ ।
तिनै सुचकको आधारमा स्थानीय तहको कार्य सम्पादन मुल्यांकन आयोगले गर्दै आएको छ । सूचकहरुमा नगर तथा गाउँ कार्यपालिको हरेक वर्ष असार १० गते नीति तथा कार्यक्रम र बजेट पेश गरे नगरेको, असार मसान्तभिव पारित गरे-नगरेको र आयव्यव प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे-नगरेको रहेका छन् ।

यस्तै, बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे-नगरेको, राजश्व संकलनको प्रक्षेपित लक्ष्य, यथार्थ राजश्व संकलन रकम, मुल्यांकन गरिएको अघिल्लो आर्थिक वर्षको यथार्थ राजश्व संकलन रकम खुलाएको हुनुपर्ने सूचकमा समावेश छ ।
सूचकहरुमा कुल विनियोजित र खर्च रकम, कुल पुँजिगत विनियोजन र खर्च, लेखापरीक्षण भएको रकम, कायम भएको बेरुजु रकम र स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्रको प्रयोग गरे-नगरेको छन् ।
स्थानीय तहले आवधिक योजना तर्जुमा गरे-नगरेको, कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समुहका विद्यार्थी खुद भर्नादर, कक्षा ८ मा रहेका विद्यार्थी संख्या, शैक्षिक शत्रमा कक्षा ९ मा रहेका विद्यार्थी संख्या, सामुदायिक विद्यालयवाट कक्षा १० को परिक्षामा सहभागी कुल विद्यार्थी संख्या र सामुदायिक विद्यालयबाट कक्षा १० को परिक्षामा कम्तीमा डी वा सो भन्दा उच्च ग्रेडसहित उतिर्ण विद्यार्थी संख्यालाई कार्य सम्पादन मुल्यांकनको सूचकमा समावेश छ ।
एक आर्थिक वर्षमा अनुमानित गर्भवति महिलाको संख्या, चार पटक गर्भ जाँच गर्ने महिलाको सख्या, संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या, २४ महिनासम्मका वालवालिकाको अनुमानित संख्या र पुर्ण खोप पाएका बालबालिकाको संख्या पनि आयोगले मुल्यांकन गर्ने कार्य सम्पादन मुल्यांकनको सुचककमा राखेको छ ।
आयोगले सार्वजनिक गरेको नतिजामा चित्त नबुझे सात दिनभित्र आवश्यक आधार र प्रमाणसहित स्थानीय तहलाई पुनरालोकन गर्न आग्रह गरेको छ ।

नेपाल कर्म । १ फाल्गुन २०८१, बिहीबार १६:२८