दुई महिनामा कर्णालीका चार जिल्लामा पाँच पटक गयो भुकम्प

सुर्खेत । पछिल्लो दुई महिनाको अवधिमा कर्णालीका चार जिल्लामा भुकम्पको धक्का महसुश गरिएको छ । गत पुस १९ गतेदेखि माघ ३० गतेसम्म चार जिल्लाका पाँच ठाउँमा भुकम्प गएको हो ।



बुधबार मात्रै जुम्ला केन्द्रबिन्दु भएर दुई पटक भुकम्प गएको छ । बुधबार बिहान ११ बजेर ५६ मिनेटमा उर्थु चौतारा केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केल भुकम्प गएको थियो । पुनः दिउँसो ३ बजेर ३८ मिनेट जाँदा जुम्लाको पाटमारा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ ।


भुकम्पका कारण कुनै क्षतीको बिबरण भने नआएको प्रहरीले जनाएको छ। पछिल्लो दुई महिनामा पुस ११ गते जाजरकोटमा ४.२, पुस १९ गते मुगुमा ४.४ र माघ २२ गते दैलेखमा ४.४ भुकम्प गएको केन्द्रले जनाएको छ ।

विज्ञहरूले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका जिल्लामा गइरहेका साना भूकम्पहरूलाई ‘जोखिमको पूर्वसूचक घण्टी’ का रूपमा बुझ्नुपर्ने बताउँदै आएका छन् । यस्ता भूकम्पले ठूलो भूकम्प आउने खतरा नटर्ने, तर सम्भावित ठूलो विपत्को बारेमा सचेत गराउने गरेको उनीहरुले बताउने गरेका छन् ।

भूकम्पविद्हरू दक्षिणबाट सर्दै आएको ‘इन्डियन प्लेट’ उत्तरको ‘युरेसियन प्लेट’ को मुनि घुस्रिन खोज्ने क्षेत्रमै नेपाल पर्छ । दुई प्लेटबीचको घर्षणका कारण नेपाल सधैं भुइँचालो जान सक्ने अधिक जोखिमको क्षेत्रमा पर्न जान्छ । यस्तो भुइँचालो नगएको क्षेत्रको भूगर्भमा शक्ति सञ्चित भएर बस्छ र कुनै पनि बेला ठूलो भूकम्प जाने खतरा हुन्छ ।

भूकम्पविद्हरूका अनुसार मध्य नेपालमा २०० वर्षभन्दा कम समय अवधिमा ठूला भूकम्प गएका छन् भने पूर्वी नेपालमा १९९० सालपछि ठूलो भूकम्प गएको छैन ।
अध्ययन अनुसार पश्चिम नेपालमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन ।

जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हुने भूगर्भविद्हरू बताउँछन् । त्यसैले पूर्वमा कम शक्तिशाली र पश्चिममा बढी शक्तिशाली भूकम्प जान सक्ने सम्भावना रहेको भूकम्पीय जोखिम नक्सामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया