सुर्खेत । माओवादी जनयुद्धको दिवसमा कर्णालीका तीन स्थानीय तहले सार्वजनिक विदा दिने निर्णय गरेका छन् । जुम्लाको सिंजा गाउँपालिका, रुकुमपश्चिमको चौरजहारी नगरपालिका र कालीकोटको पलाताँ गाउँपालिकाले (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।
सिंजा गाउँपालिकाको कार्यपालिकाको मिति २०८१ माघ २९ गतेको निर्णयअनुसार फाल्गुन १ गते जनयुद्ध दिवसको सार्वजनिक विदा गाउँपालिकाले जनाएको छ ।


रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले ऐतिहासिक जनयुद्धको स्मरण गर्दै युद्धका क्रममा यस चौरजहारी नगरपालिका क्षेत्रका ५५ जना योद्धाले सहादतसमेत प्राप्त गरेकोले सहादत प्राप्त गर्ने सबै शहीदहरूप्रति उच्च श्रद्धा र सम्मानका फागुन १ गते यस चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका निकाय र विद्यालयहरूमा सार्वजनिक विदा दिइएको जनाएको छ ।

यता, कालीकोटको महावै गाउँपालिका, शुभकालिका गाउँपालिकाले र रास्कोट नगरपालिकाले पनि जनयुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्न लागेका छन् ।कालीकोटको पलाताँ गाउँपालिकाले पनि विदा दिने निर्णय गरेको छ ।
कर्णालीका ७९ ओटा स्थानीय तहमा पाँच नगरपालिका प्रमुख, १८ गाउँपालिका अध्यक्ष, ६ नगरपालिका उपप्रमुख, २१ गाउँपालिका उपाध्यक्ष, दुई सय २१ वडाध्यक्ष, दुई सय १५ महिला सदस्य, दुई सय २२ दलित महिला सदस्य, चार सय १५ वडासदस्य गरी कूल एक हजार एक सय २३ जना निर्वाचित भएका छन् ।

नेपाल कर्म । ३० माघ २०८१, बुधबार १७:२६