सुर्खेतको लाइफलाइन राजमार्ग : पीडादायी यात्रा भुलेर नागरिकले कुरेकाे कालोपत्रे सडक

सुर्खेत । पञ्चपुरी नगरपालिका–८ कालासोताका लक्ष्मण रामजाली मगर शारिरीक रुपमा अशक्त छन् । ६६ वर्षीय लक्ष्मण आठ वर्षअघि रुखबाट लडेर शरिरको तल्लोभाग नचल्दा ह्वील चियरमै दैनिकी बिताउछन् ।



प्रायः सुनसान हुने घरको आँगनमै ह्वीलचियर यताउता गुडाउदै दैनिक बिताउनु बाहेक अर्को विकल्प छैन् । अहिले उनलाई दैनिक विताउन निकै सहज बनेको छ । कारण, हो मदन भण्डारी राजमार्ग ।

आठ वर्षअघि रुखबाट लडेर शरिरको तल्लोभाग नचल्दा ह्वील चियरमै दैनिकी बिताइरहेका लक्ष्मण रामजाली मगर ।

राजमार्गको तेस्रो प्याकेज अन्तरगत अहिले लक्ष्मणको आँगनहुँदै विद्यापुर डाडाँदेखि चौर खोला जोड्ने सडक निर्माणको काम भइरहेको छ । सडकको सुरुवात तिनै लक्ष्मणको घर नजिकै भएर पूर्वतर्फ लाग्छ । एक्लै आँगनमा दिन विताउने उनी सडकमा मजदुरहरुले गरिरहेको काम हेरेर दैनिकी काट्छन् ।

पञ्चपुरी नगरपालिका–९ का छविलाल बयक गुटु खोलामा भेटिए । वर्षातमा बाढीले निकै दुःख दिँदा चौकुनेको यात्रा रोकिदाँ नागरिकहरु हिडेरै गन्तव्य छिचल्नु पथ्र्यो । अहिले गुटु खोलामा पक्की पुल निर्माणको काम जारी छ ।

८४ वर्षीय बयक दैनिक एक पटक पुलमा पुग्छन् । कामका गतिविधि नियाल्छन् । विचमा रोकिएको कामले अब विस्तारै गति लिन्छ होला भन्ने आशाले घर फर्किन्छन् । पुलको ढलानका लागि ठेकेदारले देखाएको जागरले यो वर्ष पक्कै खोलाबाट हैन् अब सरर पुलबाटै गाडी गुडछन् भन्नेमा बयक ढुक्क छन् ।

पञ्चपुरी नगरपालिका–९ का छविलाल बयक ।

लक्ष्मण र छविलाल मात्रै हैन् पश्चिम सुर्खेतका नागरिकहरु यति बेला विगतका पीडा भुल्दै चिल्लो सडकमा कहिले गाडी यात्रा गर्न पाइएला भन्ने प्रतिक्षामा छन् । सुर्खेतका चार नगरपालिका गुर्भाकोट, लेकवेशी, वीरेन्द्रनगर, पञ्चपुरी तथा दुई गाउँपालिकाका बराहताल र चौकुनेका नागरिकको लाइफलाइन सडक हाे मदन भण्डारी राजमार्ग ।

सुर्खेत पूर्व र पश्चिम खण्डमा मदन भण्डारी राजमार्ग आयोजनाले ठेक्का व्यवस्थापन गरेर धमाधम काम गर्दा स्थानीय उत्साही छन् । ‘घरबाटै सडक आउँला भन्ने परिकल्पना गरेको थिएन् । राजमार्ग आउँछ आउछ त भन्थे, अहिले आँगनबाटै पक्की सडक बन्दैछ । शरिरको पीडा लुकाएर खुसी थपिएको छ,’ राम्जाली भन्छन्, ‘थप उपचार गर्न सुविधा सम्पन्न अस्पतालमा जान मलाई पनि सहज हुनेभयो ।’

२०५१ सालमै सुर्खेत पश्चिम जाने सडकको ट्र्याक खोलिएको हो । राष्ट्रिय प्राथमिकतामा राखेर राजमार्ग नामाकरण गरेर धमाधम सडक निर्माणहुँदा पश्चिम सुर्खेतबासीलाई आशा जगाएको छ ।

‘वीरेन्द्रनगरमा छोराछोरी बसेर पढ्दा पिठ्यूमा भारी बोकेर बड्डीचौरसम्म पुग्नुपथ्र्यो,’ राम्जाली विगत सम्झदै भन्छन्, ‘यति फराकिलो सडकमा सरर केही वर्षमै वीरेन्द्रनगर पुग्दा कति मन आनन्दित होला ।’

सदरमुकाम वीरेन्द्रनगर जाँदा बाटोमा पकाउने राशन बोकेर पैदलै यात्रा गरेको सम्झदैँ बयक भन्छन्, ‘सडक पक्की बन्ला, विद्युत घरघरमा आउँला, शिक्षा र स्वास्थ्य जस्ता सुविधा थपिएला भन्ने कहिल्यै सोचेनौं । सडकको काम भइरहँदा विगतका ति सबै क्षण भुलिसकेका छौं ।’

विद्यापुर–सालकोट–चौर खोलाको काम शुरु
मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले पश्चिम खण्डमा दुई चरणमा काम गरिरहेको छ । सुर्खेतमा पहिलो चरणको काम थालिएको धुलियाविट–गुमी–भेडावरी सडक सम्पन्न हुँदैछ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले पश्चिम खण्डमा निर्माण गरिरहेको सडकको तेस्रो प्याकेज अन्तरगत विद्यापुर डाँडामा काम गरिरहेका मजदुर ।

१७ फागुन २०७९ बाट विद्यापुर–विजौरा–बल्दे सडक निर्माण शुरु गरिएको हो । अहिले तेस्रो चरणमा विद्यापुर–चत्तुरे–चौर र बल्दै–बेतान–लगाम २५ किलोमिटर सडकको ठेक्का व्यवस्थापन गरेर काम थालिएको छ ।

विद्यापुर डाँडादेखि दुलालथाई, चत्तुरे चोक भएर सडक चौर खोला जोडिनेछ । १० किलोमिटर सडक निर्माणको जिम्मा दिवा यति विल्डर्स, ललितपुरले पाएको छ । विद्यापुर डाँडाबाट शुरु गरिएको कामको हाल सडक कटिङ, कल्भर्ट र नाला निर्माणको कामको भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर रेशम वली बताउँछन् ।

दुलालथाइमा सडक चौडा गरिँदै ।

उनकाअनुसार बल्दे–लगाम १५ किलोमिटर सडक निर्माणको जिम्मा पनि यहीँ निर्माण कम्पनीले पाएको छ । आगामी असारसम्म विद्यापुर–चौर खोला सडकमा सव वेश विछ्याउने लक्ष्य राखेर काम गरिरहेको दिवा यति विल्डर्सका इन्चार्ज चन्द्रबहादुर खत्रीले जानकारी दिए ।

माया तालसम्म रुख कटान सकिएको र माया ताल–लगाम २८ किलोमिटर क्षेत्रको कटानको प्रक्रियामा छ । वनको सबै प्रक्रिया अन्तिम चरणमा रहेकाले केही दिनमै रुख कटान सुरु गरिने ईन्जिनियर वलीले जानकारी दिए ।

‘दोस्रो ठेक्का व्यवस्थापनपछि निर्माण व्यवसायीको काम गर्ने शुरुवाती चरणको अवस्था सन्तोषजनक छ,’ इन्जिनियर वलीले भने, ‘यहीँ गतिमा काम भए असारसम्म ग्राभेल हुनेमा विश्वस्त छौं ।’ २५ किलोमिटर सडक निर्माणका लागि एक अर्ब ३६ करोड लागतमा दिवा यति विल्डर्सले १४ भदौ २०८१ सम्झौता गरेको हो ।

अस्फाल्ट प्रविधिबाट सडक कालोपत्रे
सुर्खेत पश्चिमको बड्डीचौरबाट मदन भण्डारी राजमार्ग लगाम जोडिन्छ । यो खण्डमा राजमार्गको दुरी ८५ किलोमिटर छ । मदन भण्डारी राजमार्ग आयोजनाले विद्यापुर–गुटु–विजौरा–बल्दे करिव २३ किलोमिटर सडक निर्माण १७ फागुन २०७९ बाट शुरु गरिएको हो ।

मायातालमा सडक कालोपत्रेका लागि राखिएको अस्फाल्ट प्लान्ट ।

एक अर्ब २१ करोड लागतमा रहेको सडकको निर्माण जिम्मा बानियाँ मोतिदान डि.एस.जेभी काठमाडौंले पाएको छ । चालु आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्रे गर्न वेश विछ्याउने काम शुरु गरिएको इन्जिनियर वलीले बताए ।

‘पहिलो पटक राष्ट्रिय राजमार्ग अस्फाल्ट प्रविधिबाट सडक कालोपत्रे गर्दैछौं,’ वली भन्छन्, ‘वीरेन्द्रनगरमा साना सडकहरु यो प्रविधिबाट कालोपत्रे गरिएपनि राजमार्गमा हामी शुरुवात गर्दैछौं ।’

चाैकुने गाउँपालिकाकाे मायातालमा निर्माण व्यवसायीले अस्फाल्ट प्लान्ट जडान गरिसकेकाे छ । असारसम्म काम भएका सबै सडक कालोपत्रे गर्ने लक्ष्य राखेको बानियाँ मोतिदान डि.एस.जेभी काठमाडौंका सञ्चालक विकास गौतमले बताए ।

‘९० प्रतिशत भौतिक प्रगति सकिएको छ, निर्माण अवधि १६ फागुन २०८२ मा भएपनि असारमै सक्ने गरी बाँकी कामहरु युद्धस्तरमा गरिरहेका छौं ।’ विद्यापुरदेखि विजौरा नजिकसम्म कालोपत्रे सक्ने लक्ष्य कार्यालयको छ ।

मदन भण्डारी राजमार्ग ६ जेठ २०७५ मा नेपाल सरकारले स्वीकृत गरेको हो । झापाको बाहुनडाँगीबाट शुरु भएको राजमार्ग डडेल्धुराको रुपाल अन्तिम विन्दु हो । राजमार्गले सुर्खेत जिल्लाको पूर्वी गुर्भाकोटको भेडावारीबाट शुरु भएर पश्चिम चौकुने गाउँपालिकाको वेनीघाटहुँदै सुदूरपश्चिमको डोटी जिल्ला प्रवेश गर्छ ।

मदन भण्डारीले सुर्खेतमा मात्रै झण्डै १५८ किलोमिटर पर्छ । योमध्य भेडावारी–बोटेचौर–रैकर–बालुवासंग्रही (छिन्चु–जाजरकोड–डोल्पा) सडक करिव १२, धुलियाविट–बाँगेशीमल (फोरलेन) सडक आठ र बाँगेशीमल–बड्डीचौर (कर्णाली राजमार्ग) सडक ३० किलोमिटर कालोपत्रे भइसकेकाे छ ।

बाँकी खण्डमा मदन भण्डारी र कर्णाली सरकारले काम गरिरहेकाले अबको तीन वर्षमा यो राजमार्गले पूर्णता पाउँदैछ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतले पूर्वमा २८ असार २०७८ बाट काम थालेको हो ।

३५ किलोमिटर दुरीको सडक आगामी असारसम्म सकिनेछ । कालिका, केएस भेरासी जेभीले एक अर्ब तीन करोड लागतमा धुलियाविट–भेडावारी सडक निर्माण गरिरहेको छ ।

१३ पुल निर्माण, तीन पुलको काम अन्तिम चरणमा
मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा २३ ओटा पक्की पुल निर्माण गर्नुपर्नेछ । यीमध्य हालसम्म निर्माणको क्रममा रहेका १६ पक्की पुलमध्य १३ ओटा निर्माण सम्पन्न गरेर सवारी सञ्चालन भइसकेका छन् ।

निर्माण सम्पन्न भएका पुलमध्य सुर्खेत पूर्वी खण्डमा पर्ने १३ पुलमध्य पाँच पुल निर्माणको जिम्मा केएस कन्ट्रक्शनले पाएको छ । भुगुती, काली, खत्री, गुर्जी खोलाको पुल निर्माण सकिएको छ । बेतनी खोलाको पुल ढलान गर्ने चरणमा रहेकाले आगामी असारसम्म सक्ने लक्ष्य कार्यालयको छ ।

यी पुलको लागत १३ करोड ७९ लाख छ । पूर्वी खण्डमा निर्माण भइरहेका सात पक्की पुल हिम सगरमाथाले २६ करोड ५६ लाखमा जिम्मा पाएको हो । खहरे, राते, बेवारे, कागते, छोत्री, गंगटे र रानीमत्ते खोलामा निर्माण गरिएको पुलमा सवारी सञ्चालन भइसकेका छन् ।

ब्यूरेनी खोलामा निर्माण गरिएको पक्की पुल ।

सुर्खेत पश्चिम खण्डमा १० ओटा पक्की पुल निर्माण गर्नुपर्नेछ । हाल विद्यापुर, गुटु र ब्यूरेनी खोलामा पुल निर्माणको काम जारी छ । तीन करोड ४६ लाख लागतमा विद्यापुर खोलाको पुल निर्माण सकिएको छ ।

पाँच करोड लागतमा गुटु खोला निर्माण भइरहेको पुल ढलान गर्ने तयारीमा छ । तीन करोड ६० लाख लागतमा ब्यूरेनी खोलाको पुल ढलान सकिएको छ । गुटु र ब्यूरेनी खोलाको पुल निर्माण असारसम्म सक्ने प्रतिवद्धता निर्माण व्यवसायी मृत सञ्जीवनी प्रदेज जेभी भक्तपुरले गरेको कार्यालयको भनाई छ ।

पञ्चपुरी नगरपालिकाको स्यालीघाट, चत्तुरे, बरैचे, सलाम दुवे खोला तथा चौकुने गाउँपालिकाको सिमल खेत र लेमु खोलामा पक्की पुल निर्माण गर्नुपर्नेछ । ६ वटा पक्की पुलको विस्तृत प्रतिवेदन परियोजना र वातावरणीय प्रभाव मूल्यांकन कार्यालयले तयार गरेर मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयमा पठाइसकेको छ ।

प्रतिवेदन आउन बाँकी रहेकाले त्यसपछि डिजाइनको प्रक्रियामा जानेछ । डोटी र सुर्खेत जोड्ने चौकुने गाउँपालिका–१ पाल्पाघाटस्थित कर्णाली नदीमा पक्की पुल निर्माण गर्न कार्यालयले प्रस्ताव पेश गर्न प्रक्रिया थालेको छ । पाल्पाघाटमा पक्की पुल निर्माणपछि राजमार्ग सुदूरपश्चिमको डोटी जोडिनेछ ।

तपाईको प्रतिक्रिया