
सुर्खेत । वीरेन्द्रनगरमा प्रथम मेयर कप खुला ब्याटमिन्टन प्रतियोगिताको आयोजना गर्न लागिएको छ । सुर्खेत जिल्ला ब्याटमिन्टन संघको आयोजनामा वीरेन्द्रनगरस्थित कर्णाली रंगशालाको पूर्वमा रहेको ब्याटमिन्टन कभर्ड हलमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

खुला पुरुष डवल, खुला भेट्रान्स ४५ प्लस पुरुष डवल, अन्डर १९ पुरुष र महिला तथा अन्डर १४ पुरुष र महिला विधामा छुट्टाछुट्टै प्रतियोगिता आयोजना गर्न लागिएको सुर्खेत जिल्ला ब्याटमिन्टन संघका सचिव लोकेन्द्रबहादुर थापाले जानकारी दिए ।
माघ २९ गते (मंगलबार) विहान ९ बजेबाट शुरु गर्न लागिएको प्रतियोगिता फागुन १ गतेसम्म सञ्चालन गरिने थापाले बताए । प्रतियोगिताका लागि १५० जना खेलाडीको नाम दर्ता गरिएको छ । खुला पुरुष डवलमा विजयीले ७०, फस्ट रनरअपले ५० र सेकेण्ड रनरअपले ३० हजार पुरस्कार पाउनेछन् ।


खुला भेट्रान्स ४५ प्लस पुरुष डवलमा विजयीले ४०, फस्ट रनरअपले २५ र सेकेण्ड रनरअपले १५ हजार पुरस्कार दिइने सचिव थापाको भनाई छ ।
अन्डर १९ पुरुषतर्फ विजयीले ३० हजार, फस्ट रनरअपले २० र सेकेण्ड रनरअपले १० हजार तथा अन्डर १९ महिलातर्फ विजयीले १५ हजार, फस्ट रनरअपले १० हजार र सेकेण्ड रनरअपले पाँच हजार पुरस्कार पाउनेछन् ।
नेपाल कर्म । २८ माघ २०८१, सोमबार १३:३६