आशै मारेको गोताखोर टिमले अनि भेटायो अर्जुनको शव

सुर्खेत । माघ २३ गते भेरी नदीमा निर्माणाधिन झोलुङ्गे पुल निर्माणको क्रममा खसेर रुकुम पूर्वका दुई जना मजदुर बेपत्ता भए । बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने झोलुङ्गे पुलमा खाना खाएर जाली कस्न पुलमा पुगेका दुई जना भेरी नदीमा खसेका हुन् ।



भेरी नदीमा वेपत्ता भएकै दिन सशस्त्र प्रहरी बल नं. ३२ गण, हेडक्वाटर रक्तकाली सुर्खेतका प्रहरी उपरिक्षक राजकुमार श्रेष्ठसहितको गोताखोर टोली घटनास्थल पुगेको थियो ।

सिस्ने गाउँपालिका–२ रुकुम पूर्वका २४ वर्षीय अनिल घर्ती र १८ वर्षीय अर्जुन झाँक्री मगर भेरी नदीमाथि निर्माणाधिन पुलबाट नदीमा खसेका थिए । हराएको दिन साँझ परेपछि खोज्न कठिन भएपछि सशस्त्रको गोताखोर टोली वीरेन्द्रनगर फर्किएको थियो ।

बिहीबार दिउँसो पुनः खोज्न कुटा पुगेको सशस्त्रको गोताखोर टोलीले अनिलको शव फेला परेको हो । नदीमा वेपत्ता अर्का व्यक्ति अर्जुनको खोजीका लागि बारम्बार खोजी गरेपनि कुनै पत्तो लागेन् ।

शुक्रबार, शनिवार पुनः दुई दिन अनिलको शव भेटिएको सबै क्षेत्रमा गोताखोर टोलीले सर्च अप्रेशन चलायो । सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि निराश बनेको गोताखोर टोली आइतबार पुनः आफन्तको आग्रहमा घटनास्थल पुग्यो ।

आइतबार दुई पटकसम्म खोजी भयो तर कही कतै शव नभेटिएपछि उनीहरु फर्किने तयारीमा थिए । ‘सम्भावित सबै ठाउँमा गाेताखाेर टाेली पुगेर खाेज्दा नभेटिएपछि शव बगाएर लगिसक्याे हाेला भन्ने अनुमान गरेर आशै मारेर फर्किने तयारी गरेकाे थियाे’ बराहताल गाउँपालिका-४ का वडाध्यक्ष विर्ख बडुवाल भन्छन्,’अर्जुनका आफन्तले अन्तिम पटक पुनः शव खोजिदिनुहोस् नभए हामी पनि नदीमै हेलिन्छौं भनेपछि गोताखोर टोली नदीमा पसेर अन्तिम प्रयासमा फेला पारेकाे हाे ।’

अनिलको शव भेटिएको झण्डै दुई सय मिटर नजिकै नदी भित्र बालुवाले शव पुरिएको अवस्थामा खुट्टा देखिएपछि गोताखोर टोली शव निकालेको हो । पाँच दिनपछि उनको शव भेटाएपछि पोष्टमार्टका लागि प्रदेश अस्पताल कालागाउँ आइतबार साँझ ल्याइएको छ । आफन्तले दुवै शव अन्तिम संस्कारका लागि रुकुम पूर्व लैजाने तयारी छन् ।

तपाईको प्रतिक्रिया