दुई महिनामा कर्णालीमै १४ जना मेरुदण्ड भाँचिएकाकाे शल्यक्रिया

सुर्खेत । प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा हाडजोर्नीका जटिल शल्यक्रिया गरिँदा बाहिर जानु पर्ने बाध्यताकाे अन्त्य भएकाे छ । हाडजोर्नीको अप्रेशन गर्न काठमाडौं, नेपालगञ्ज जानुपर्ने बाध्यतामा रहेका कर्णालीका नागरिककाे जटिल शल्यक्रिया प्रदेश अस्पतालमै सफल बन्दा सेवाग्राहीलाइ सहज बनाइदिएकाे हाे।



अस्पतालका हाडजोर्नी विभाग प्रमुख तथा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.विकास केसीसहित अहिले प्रदेश अस्पतालमा ७ जनाको विशेषज्ञ टिम हाडजोर्नीको उपचारमा अहोरात्र खटिने गरेको छ।

डा. केसीसँगै डा. पदम गिरी, डा. किशोर विष्ट, डा. प्रकाश श्रेष्ठ, डा. तेजेन्द्र साउँद, डा. भगवत सिंह धमला र डा. रविन केसीको टोलीले हाडजोर्नीको समस्याबाट पीडित विरामीहरुको सफल उपचार गरिरहेको छ।

पछिल्लो समय जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुन थालेपछि अस्पतालप्रति बिरामीको विश्वास पनि बढ्दै गएको छ। वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा पछिल्लो साढे दुई महिनाको अवधिमा मेरुदण्डका १४ जना बिरामीको सफल शल्यक्रिया गरिएको अस्पतालका प्रवक्ता समेत रहेका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. केसीले बताए।

कर्णालीका दैलेख, कालिकोट, जाजरकाेट, सल्यान, सुर्खेत तथा सुदूरपश्चिमका बाजुरा र अछाम जिल्लाका नागरिकहरू अप्रेशनका लागि अस्पतालमा उपचारका लागि आउने गरेका छन् ।

पछिल्लो पटक दैलेखकी एक महिलाको मेरुदण्डको जटिल शल्यक्रिया सफलतापुर्वक गरिएको छ। घास काट्दा रूखबाट लडेकी ४८ वर्षकी महिलाको मेरुदण्डको हड्डी २ ठाऊमा भाचिएको थियो। २ ठाउँमा हड्डी भाचिएपछि उपचारको लागि प्रदेश अस्पतालमा आएकी उनको डा. केसीको नेतृत्वमा सफलतापुर्वक शल्यक्रिया सम्पन्न भएको हो।

‘मेरुदण्डको हड्डी २ ठाँउमा भाँचिएको अवस्थामा अस्पताल ल्याइएको थियो हामीले सफल शल्यक्रिया गरेका छौँ,’ डा केसीले भने, ‘प्यारालाइसिस नभएकोले उपचार गर्न सहज भयो।’

विकट भौगोलिक भू–वनावटका कारण कर्णालीमा घाँस दाउरा लिन गएकाहरुमा लडेर मेरुदण्डमा चोटपटक लाग्ने समस्या बढ्दै गएको छ। ‘घाँस दाउरा गर्न जाँदा विभिन्न ठाँउबाट लडेर चोटपटक लाग्ने बिरामीहरु धेरै छन्,’ डा केसीले भने, ‘त्यस्तो बेला जति सक्दो चाँडो अस्पताल ल्याएमा हामीलाई पनि उपचार गर्न सजिलो हुन्छ।’

बिरामीहरुलाई सुर्खेतमै सफल अप्रेशन हुन्छ भन्ने सुनेपछि अस्पताल आउनेको संख्या पनि बढेको उनले बताए। उनले अस्पतालको ओपिडीमा आउने बिरामीहरुमध्ये दैनिक १२० जना हाडजोर्नी सम्बन्धी समस्या रहेका बिरामीहरु रहेको बताए। पछिल्लो समय कर्णालीका नागरिकको पहिलो रोजाइमा प्रदेश अस्पताल पर्ने गरेको छ।

कर्णाली प्रदेशका नागरिकलाई कुनै बेला सामान्य उपचारका लागि पनि जिल्ला बाहीर जानुपर्ने बाध्यता थियो। सामान्य स्वाथ्य उपचारका लागि नेपालगन्ज,लखनउ, काठमाडौं लगायत अन्य सहरहरुमा उपचारका लागि जानुको विकल्प थिएन।

तर अहिले कर्णाली प्रदेशका १० जिल्लासहित छिमेकी प्रदेशका केही जिल्लाबाट पनि बिरामीहरु प्रदेश अस्पताल सुर्खेतमा सेवा लिन आउन थालेका छन्। अत्याधुनिक सेवा दिन थालेपछि अहिले प्रदेश अस्पतालमा दैनिक ६ सयभन्दा धेरै बिरामीले सेवा लिने गरेका छन्।

तपाईको प्रतिक्रिया