मध्यपश्चिम विश्वविद्यालयको तेह्रौं वार्षिकोउत्सव

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले तेह्रौं वार्षिकोउत्सव मनाएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यता र विद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहको अध्यक्षतामा वार्षिकोउत्सव मनाएको हो।



उक्त समारोहमा मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशको समग्र विकास र उन्नयनका लागी दक्ष जनशक्ति उत्पादनमा मध्यपश्चिम विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहेको बताए।

मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबीच थप सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए। उनले भने, ‘कर्णालीको गरिबी, अशिक्षा र स्वास्थ सेवाको अभावका विरुद्ध एकताबद्ध संघर्ष गर्नुपर्ने बेला आएको छ। यसै सन्दर्भमा यस पटक सरकारको नीति तथा कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयको अनुसन्धान र विकास कार्यक्रमका लागि सहयोग गर्ने नीति पनि लिएको छ।’

यस्तै, वार्षिकउत्सव समारोहमा उपकुलपति प्रा.डा. सिंहले मध्यपश्चिम विश्वविद्यालयको एकीकृत भीजन र विश्वविद्यालयको प्रगती बारे प्रस्तुत गरेका थिए।

सिंहले बोल्दै अबको विश्वविद्यालयहरुले संसारै भरी प्रतिस्पर्धा गर्न सक्षम विद्यार्थी उत्पादन गर्नुपर्ने र विश्वविद्यालय यस प्रति कटिबद्ध रहेको बताए। साथै कर्णाली प्रदेश सरकारले गरेको सहकार्य र सहयोग गर्ने प्रतिबद्दता प्रति धन्यवाद व्यक्त गरे।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए।

समारोहमा उपकुलपति कार्यालयका सूचना प्रविधि विज्ञ उप-प्राध्यापक पन्चदेव भट्टले विगत तीन वर्षको अवधिमा विश्वविद्यालयमा भएको रुपान्तरण सम्बन्धी डकुमेन्ट्री भिडियो प्रस्तुत गरेका थिए।

यस्तै, कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका विभिन्न ग्र्याजुएट स्कुलहरुमा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए।

मुख्यमन्त्री, उपकुलपति र रजिष्ट्रारद्वारा केन्द्रीय प्रशासनिक भवन परिसरमा वृक्षारोपण गरी समारोहको सुरुवात गरिएको थियो।

तपाईको प्रतिक्रिया