सुर्खेत । कर्णाली नदीमा स्काभेटर (डोजर) तार्ने क्रममा फसेका तीन जनाको उद्दार गरिएको छ । आइतबार दिउँसो १ बजे मुगुको खत्याड र बाजुराको हिमाली गाउँपालिकाको बिचमा पर्ने झुगोलास्थित कर्णाली नदीमा प्रदेश–२–०३–००१ क १००१ नम्बरको स्काभेटर तार्ने क्रममा फसेकाहरुको उद्दार गरिएको हो ।

उद्दार गरिएकाहरुमा कनकासुन्दरी गाउँपालिका–६ सिँजा जुम्लाका २३ वर्षीय मानबहादुर पछाई, सोही ठाउँका २५ वर्षीय सूर्य पछाई र १९ वर्षीय राजेन्द्र वड रहेको प्रहरी चौकी धुलाचौर बाजुराका प्रहरी सहायक निरीक्षक कल्याण सिंह बडालले नेपालकर्मलाई जानकारी दिए । उद्दार गरिएकामध्य सूर्य चालक हुन् ।

झण्डै तीन घण्टापछि विच नदीमा फसेकाहरुलाई हिमाली गाउँपालिकाको ¥याफटिङबाट सकुशल नदी बाहिर ल्याएको अध्यक्ष गणेशबहादुर मल्लले बताए ।

‘दिउँसो १ बजेदेखि नदीमा फस्नु भएको रहेछ, उद्दारको अन्य विकल्प नभएपछि गाउँपालिकामा रहेको ¥याफटिङ र उद्दार कर्ता पठाएको थियौं,’ मल्लले भने, ‘साँझ ४ बजे उहाँहरुको सकुशल उद्दार गरेर अहिले उहाँहरु मुगुको खत्याड जानु भएको छ ।’ डोजर भने नदीको बिचमै छ ।
जुम्लाबाट मुगुको खत्याडहुँदै हुम्ला लैजाने क्रममा डोजर कर्णाली नदीबाट तार्न खोज्दा नदीमा फसेको प्रहरी चौकी धुलाचौर बाजुराका प्रहरी सहायक निरीक्षक बडालले बताए । डोजरलाई भने तान्ने मेशिन नहुँदा विच नदीमै रहेको प्रहरीले जनाएको छ ।

नेपाल कर्म । २७ माघ २०८१, आईतवार १८:४५