कालिकोटमा ढुंगामाथि पिल्लर उठाइएको पुलको ब्यथा

सुर्खेत । तिलागुफा नगरपालिका–६ भैसेगौडास्थित तिला नदीमा बनाइरहेको ढुंगामाथिको पिल्लरको सामाजिक सञ्जालमा चर्चा छ । यात्राका क्रममा खिचिएको भिडियो भाइरल बनेपछि आलोचनासँगै पुलको डिजाइन गर्ने इन्जिनियरप्रति अनावश्यक टिकाटिप्पणि भइरहेको छ । तिला नदीमा अहिले निर्माण गरिरहेको पिल्लर पक्की पुलको नभएर अस्थायी पुलको हो ।



पक्की पुल बगाएपछिकाे संरचना बायाँ र नगरपालिकाले ढुंगामा प्वाल बनाएर काठकाे पुल बनाउन निर्माण गरेकाे पिल्लर दायाँ ।

ढुंगामा प्वाल बनाएर सरिया राखेर पिल्लर उठाइएको छ । यो पक्की पुलको संरचना भने हैन् । यहीँ नदी पार गरेर तिलागुफा नगरपालिकाका वडा नम्बर ९, १० र ११ का नागरिक आवतजावत गर्नुपर्ने बाध्यता छ । नदी पारी रुढु, चिल्खया, ढिम्निया र रानावाडा गाउँ छन् ।

बनाएको पक्की पुल २२ असोज २०७९ मा बाढीले बगाएपछि नागरिकहरुले सास्ती झेलिरहेका छन् । नगरपालिकाले प्रदेश र संघ सरकारले तत्काल पुल बनाउने सम्भावना नदेखेपछि नदी पारीका नागरिकहरुको सहजताका लागि काठ पुल (लाप्का) बनाएर जोड्न पिल्लर उठाएको हो ।

सामाजिक सञ्जालमा यो कस्तो खलाको पुल हो भनेर आलोचनाको विषय बनेको छ । तिला नदीमा २०७३ सालमा पक्की पुल निर्माणका लागि सम्झौता गरिएको थियो । सम्झौता भएको ६ वर्षपछि निर्माण व्यवसायी अमर कन्ट्रक्शन प्रा.लि.ले पुलको सबै काम सकिएकाले बाँकी भुक्तानीका लागि प्रतिवेदनसहितको फायल चैत २०७८ मा बुझाएको रेकर्ड छ ।

तत्कालिन जिल्ला विकास समितिले पक्की पुलका लागि ठेक्का व्यवस्थापन गरेर तयार भएकाे पुल । याे पुल २०७९ असाेजमा आएको बाढीले बगाइसकेकाे छ ।

१० असार २०७३ मा साविक जिल्ला विकास समितिले ठेक्का व्यवस्थापन गरेको पुलको लागत तीन करोड ६४ लाख १८ हजार ६६९ बजेट हो । निर्माण व्यवसायीले काम सकिएको भन्दै अन्तिम भुक्तानीका लागि पुल बगाउनु अगावै पूर्वाधार विकास कार्यालय कालिकोटमा फायल पेश गरेको भेटिएको छ ।

तर बाढीले पुल बगाएपछि अमर कन्ट्रक्शन प्रा.लि.का सञ्चालक तारा शाहले पुल बग्नुमा आफ्नो दोष नभएको भन्दै नेपाल मध्यस्थता परिषद् (नेप्का) मा मुद्दा हालेकी छन् । उनले झण्डै एक करोड भुक्तानी पाउन बाँकी छ ।

नबुझेरै गलत प्रचार गरियो : उपप्रमुख शाही
सामाजिक सञ्जालमा भाइरल गराउने नाममा नगरपालिकाको बदनाम गराउने उदेश्यले अहिले बनिरहेको संरचनाको गलत व्याख्या गरेको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाही बताउँछन् ।

‘तत्काल पक्की पुल बन्ने नदेखिएपछि अस्थायी रुपमा काठको पुल बनाउन लागिएको हो,’ शाहीले भने, ‘नगरपालिकासँग पुल बनाउने बजेट छैन्, हिउदको समयमा कम्तिमा तिला पारीका नागरिकलाई सहजताका लागि ढुंगामा प्वाल बनाएर पिल्लर उठाउन लागिएको हो ।’

नगरपालिकाले काठको पुल बनाउन यो वर्ष तीन लाख ६४ हजार बजेट विनियोजन गरेको छ । यहीँ बजेटबाट अस्थायी भाटाको पुल निर्माण गरेर आवतजावत गर्न र ढुवानीमा सहजताका लागि नगरपालिकाले काम गरिरहेको शाहीको भनाई छ ।

तपाईको प्रतिक्रिया