सुर्खेत । भेरी नदीमा निर्माणाधिन झोलुङ्गे पुलबाट खसेका मजदुरहरुको खोजीका लागि आज गोताखोर टोली पठाउन लागिएको छ । बराहताल गाउँपालिका–४ कुटास्थित भेरी नदीमाथि बन्न लागेको झोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेपत्ता भएका थिए । उनीहरुको खोजीका लागि शसस्त्र प्रहरीको गोताखोर टोली बुधबार घटनास्थल पुगेको हो ।
पुल निर्माणस्थलदेखि झण्डै दुई सय मिटर तल गहिरो खोच रहेको, पानीको घुमाउरो बहाव र रात परेपछि गोताखोर टोलीलाई खोज्न कठिन भएकाले फर्किएको सशस्त्र प्रहरी बल नं. ३२ गण, हेडक्वाटर रक्तकाली सुर्खेत प्रहरी उपरिक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।


‘बुधबार घटनास्थलको वस्तुगत जानकारी लिएको फर्किएको गोताखोर टोली आज फेरि खोजीका लागि पठाउँदैछौं,’ श्रेष्ठ भन्छन्, ‘घटनास्थल पुग्नै वीरेन्द्रनगरबाट दुई घण्टा लाग्ने रहेछ, नदीमा हराइरहेकाहरुलाई आज गोताखोर टोलीले भेटाउने अनुमान गरेका छौं ।’

बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलमा जाली लगाउने क्रममा लठ्ठाले हुत्याएपछि नदीमा खसेको स्थानीयले बताएका छन् ।
बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र १८ वर्षीय अर्जुन झाँक्री मगर छन् । घटनास्थलमा प्रहरी चौकी चेपाङको टोलीले बिहीबार विहानैबाट पुन नदी किनारामा खोजी गरिरहेको छ । घटनास्थल चेपाङ गाउँदेखि झण्डै तीन किलोमिटर पूर्व तराङ्गातर्फ पर्छ ।

नेपाल कर्म । २४ माघ २०८१, बिहीबार ०८:२५