सुर्खेत । वीरेन्द्रनगर कर्णाली प्रदेश राजधानीको नगरपालिका हो । प्रदेशका अन्य जिल्लाको तुलनामा राजनीतिक, प्राशासनिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यको हब र अवसरको खोजीदेखि भविष्यको मार्ग रेखा कोर्न आउने उपमासमेत पाएको शहर वीरेन्द्रनगर हो ।

बढ्दो शहरीकरणले अव्यवस्थित बसोबासलाई सही मार्गमा डो¥याउन संघ र प्रदेशसँगको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले नीति तथा कार्यक्रम अघि सार्ने गरेको छ । परम्परागत सडकलाई व्यवस्थित र नयाँ सडकको मापदण्ड तय गरेर सुरक्षित शहर बनाउन नगरपालिकाले विभिन्न योजनाहरु अघि बढाइरहेको छ ।
घण्टाघर पार्कलाई व्यवस्थित, फोरलेन सडक र टोलटोलमा उज्यालो बनाउन लाइट जडानसम्मका कार्यक्रम अघि बढाएको छ । वीरेन्द्रनगरको मुटु मानिने पर्यटकीयस्थल घण्टाघर २०४५ सालमै निर्माण गरिएको हो । चीन सरकारको सहयोगमा त्यो बेला झण्डै ७१ लाख बजेट खर्चेर बनाइएको थियो ।

सौर्य शक्तिबाट चल्ने यी घडीले समयको जानकारीसँगै बटुवाले घण्टाघरको धुन सुनेर आनन्द लिने र समयको समेत जानकारी प्राप्त गर्थे । घण्टाघर बनेको ३७ वर्ष वितेको छ ।
घण्टाघरलाई आकर्षक र सुरक्षितस्थल बनाउन वीरेन्द्रनगर नगरपालिकाले विभिन्न प्याकेजमा काम गरिरहेको छ । नगरपालिकाले ‘ग्रेटर घण्टाघर’ बनाउन आर्थिक वर्ष ०७८-०७९ देखि काम आरम्भ गरेको हो ।
घण्टाघर पार्कलाई नगरपालिकाले संरक्षण गर्ने र पर्यटकीयस्थलका रुपमा विकास गर्ने उदेश्यले प्राथमिकतामा राखेर अघि बढाएको योजना हो । घण्टाघर क्षेत्रका पूराना पर्खाल हटाउने, पश्चिमतर्फको खाली भागमा खुला पार्क बनाउने, घण्टाघर भित्र आकर्षण संरचना, घण्टाघरदेखि नगरपालिका अगाडीसम्म फुटपाथ व्यवस्थापन, र अस्थायी संरचना हटाइएका नेकपा एमाले पार्टी कार्यालयदेखि उत्तर क्षेत्रमा मण्डला निर्माण गर्ने लक्ष्य नगरपालिकाको छ ।
आर्थिक वर्ष २०७९-०८० मा घण्टाघरको पुरानो पर्खाल हटाएर नयाँ पर्खाल निर्माण गरिएको छ । दुई चरणमा ठेक्का व्यवस्थापन गरेर निर्माण थालिएको घण्टाघरको उत्तर, पश्चिम र दक्षिणतर्फको काम ४० लाख ४७ हजार ८१९ रुपैयाँ लागतमा गत वर्ष सकिएको हो ।
बाँकी रहेको घण्टाघर प्रवेश गर्ने गेटसहित दक्षिण र उत्तरतर्फको निर्माण लागत ५५ लाख ८९ हजार ३८५ रुपैयाँ रहेको वीरेन्द्रनगर नगरपालिकाका सव–इन्जिनियर राजन तिवारीले जानकारी दिए ।
यता, घण्टाघर पार्कभित्र पब्लिक प्लाजा, विमोचनस्थल, योगा क्षेत्र, बाल उद्यान लगायतका संरचना निर्माणका गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा छ ।
शुरुवाती चरणमा पार्कलाई व्यवस्थित बनाउन नगरपालिकाले एक करोड बजेट विनियोजन गरेको छ । माघ मसान्त भित्र सक्नेगरी डिपिआर निर्माणको जिम्मा सिभिल क्रियशन नेपाल प्रा.लि. कपिलवस्तुले लिएको छ । डिपिआरको काम सकिए चालु आर्थिक वर्षमै टेण्डर आह्वान गरिनेछ ।
घण्टाघरदेखि पश्चिममा रहेको खुला स्थानमा हाल नगरपालिकाले खुला पार्क निर्माण गरिरहेको छ । सबै नागरिक सहज रुपमा प्रवेश गरेर बस्न मिल्ने बेञ्च र खुला रुपमा सार्वजनिक अन्य कार्यक्रम गर्न मिल्नेगरी संरचना तयार हुँदैछ ।
खुला पार्क निर्माणमा ९६ लाख बजेटमार्फत काम भइरहेको हो । प्रशन्न निर्माण सेवाले निर्माण जिम्मा लिएको यो पार्कको हालसम्म ८५ प्रतिशत काम सकिएको वीरेन्द्रनगर नगरपालिकाका सव इन्जिनियर राजकुमार विष्टले जानकारी दिए ।

खुला पार्क निर्माण सकिए एउटै थलोमा देउडा, मनोरञ्जन कार्यक्रम, सम्मेलन, बहस र पैरवी गर्नमा सहज हुने विश्वास लिएको नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
उनकाअनुसार खुला पार्कमा आकर्षक लाइट र सीसीटिभी क्यामरा जडान गरेर सुरक्षितस्थल बनाइने लक्ष्य नगरपालिकाको छ । घण्टाघरदेखि नगरपालिका कार्यालय अगाडीसम्म फुटफाथलाई व्यवस्थित गर्न लागिएको छ ।
नेकपा एमाले पार्टी कार्यालयदेखि उत्तरमा यसअघि रहेका अस्थायी संरचना हटाएर मण्डला निर्माण विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा छ । चालु आर्थिक वर्षबाटै ठेक्का व्यवस्थापन गरेर संरचना हटाएको क्षेत्रमा कर्णालीका १० वटै जिल्लाको सांस्कृति पहिचान झल्किने मण्डला बनाउन लागिएको हो ।
गोदाम लाइनमा पार्किङस्थल बनाउन टेण्डर आह्वान
हाल नगर प्रहरी कार्यालय क्षेत्रको पूर्वी–दक्षिण क्षेत्रमा पार्किङस्थल बनाउने प्रक्रिया थालिएको छ । मुख्य बजार क्षेत्रमा देखिएको अव्यवस्थित पार्किङलाई दीर्घकालिन रुपमा व्यवस्थापन गर्न नगरपालिकाले यसअघि अस्थायी संरचना हटाएर पार्किङस्थल तोकेको थियो ।
हटाइएका संरचनास्थलमा पार्किङस्थल बनाउन टेण्डर आह्वान गरिएको छ । दुई करोड लागतमा निर्माण गर्न लागिएको पार्किङस्थलमा साना ठूला सवारी राखिनेछ । क्षेत्राधिकारको जग्गामा वाल लगाएर दुई ओटा गेट निर्माण गरेर प्रवेशद्वार र बाहिरिने व्यवस्थित पार्किङ बनाउन नगरपालिका लागेको हो ।
धुलियाविट–बाँगेशीमल उज्याला सडक बनाउन दुइ सय सेट साेलार बत्ती जडान गरिँदै
गत आर्थिक वर्षबाट वीरेन्द्रनगरले धुलियाविट–बाँगेशीमलको फोरलेन सडकमा सोलार वत्ती जडानको काम अघि सारेको छ । पहिलो चरणमा धुलियाविटबाट शुभारम्भ गरिएको वत्ती जडानको काम दोस्रो चरणमा मंगलगढी चौकसम्म सोलार बत्ती राख्न टेण्डर आह्वान गरिएको छ ।
गत वर्ष ३८ सेट सोलार बत्ती जडान गरिएको क्रमागत रुपमा त्यसलाई निरन्तर दिन बाँगेशीमलसँग पु¥याउने गरी सम्झौता गरि सकिएको सव–इन्जिनियर राजन तिवारी बताउँछन् ।
यो वष सोलार वत्ती जडानका लागि चार करोड बजेट विनियोजन गरिएको छ । थप दुई करोडको टेण्डर आह्वानको प्रक्रियामा गएको तिवारी बताउँछन् । यो वर्ष नगरपालिकाले झण्डै दुई सय सेट सोलार वत्ती जडान गर्नेछ ।
‘वीरेन्द्रनगरका मुख्य चौकहरुमा यसअघि नै हाइमार्स लाइट जडान गरिसकिएको थियो,’ नगरप्रमुख ढकाल भन्छिन्, ‘बत्ती गएपनि उज्यालो शहर बनाइराख्न सोलार बत्तीको अवधारणा अघि बढाएका हौं ।’
नगरपालिकाले नगर क्षेत्रका विभिन्न क्षेत्रमा सडक वत्ती जडानका लागि नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरिरहेको छ । यो वर्ष पाँच हजार सडक वत्ती जडानको प्रक्रिया अघि बढाइएको ढकालले बताइन् ।

सुशील खड्का । २२ माघ २०८१, मंगलवार ०८:५६