दलित भनेर गरिएको अपमान

बेलगाम कर्नाटकको बसाइलाई बिट मार्दै जुलाई २७ तारिख बिहान ज्वाईं गणेश शाही र शान्ति थापा भाइले मलाई बसपार्कसम्म पुर्याए बिदाईका हात हल्लाउँदै म गोवाको बसमा बसेँ उनीहरू आफ्नो कर्म क्षेत्रतिर फर्किए।



लेखक काजी प्रवासी (बायाँ) र प्रतिकारात्मक तस्वीर (दायाँ)

करिब दुई वर्षजतिको बेलगाम बसाइमा मलाई कुनै असहज र कठिनाइ भन्ने कुराको थाहा भएन। किनकि म भन्दा अघि मेरो आदरणीय भतिज आदरणीय म किन भन्छु भने उनको काम गर्ने तरिका उनको व्यवहार उनको नम्रता र उनको रुखोपनको म दिवाना भएको त्यही समय हो।

ती मान्छे हुन् भूपेन्द्र बहादुर थापा। मलाई बेलगाममा काममा छु भन्ने कहिल्यै महसुस भएन साहुहरूसँग पनि राम्रो सम्बन्ध थियो। सहकर्मी साथीहरू पनि सबै एकदम असल र अब्बल थिए! भतिज भुपेन्द्र र म धेरै समय बिताउँथ्यौँ। समसामयिक विषयदेखि लिएर धेरै कुरामा निरन्तर हाम्रो छलफल भइरहन्थ्यो।

प्रायजसो समस्या समाधान र सहयोगका बारेमा हाम्रा धेरै छलफल विचारविमर्शहरु भैरहन्थे! भूपेन्द्रसँगको संगतमा मैले उनीबाट धेरै राम्रा कुराहरूको अनुसरण गर्ने मौका पाएँ। मबाट उनले के पाए त्यो उनैलाई थाहा होला।

म साथी संगीहरु र काम गरिरहेको ठाउँ छोड्दा मायुस थिएँ भने उनीहरू म छुट्टिँदाको पीडामा हुँदा हुन्। बेलगाममा शान्ति भाइ, गणेश शाही, अमृत शाही, सुन्दर शाही नविन बस्नेत ,बिरे,दिपेन्द्र खड्का लगायत थुप्रै थुप्रै भाइहरु साथीहरु निकै आत्मीय थिए।

गोवाको काम गर्ने ठाउँ हेर्न मसँगै आएको भति पारस शाहीलाई पनि धेरै मिस गरिरहेको थिएँ मैले। मैले बेलगाम काम गर्ने ठाउँ छोड्नुको तात्पर्य एउटै मात्रै थियो कि त्यहाँभन्दा अलि बढी तलब र अलि बढी सुविधाको लागि मैले बेलगामबाट काम छोडेको थिए।

चारजना साहुहरूसँग भर्चुअल अन्तर्वार्ता दिइसकेपछि म जुलाई २८ तारिखबाट गोवा “काके दी हट्टी”रेष्टुरेन्टको म्यानेजरको रुपमा काम सुरु गरे, अवसर भन्दा पनि चुनौतीहरू यहाँ धेरै थियो नौलो ठाउँ नौला मान्छेहरु मभन्दा अघि होटल उद्घाटनदेखि काम गरिरहेका मान्छेहरु, त्यसमै पनि गोवा मदिरा एकदम सस्तो रुपमा पाइने ठाउँ, सुरुवाती चरणमा आफ्नै नेपाली दाजुभाइहरूले दिएको दुःख मदिरा सेवन गरेर सताएको त्यो पल सम्झिदा मलाई गलत ठाउँमा आएको भान हुन्थ्यो।

समय बित्दै गयो मान्छेहरू सुध्रिने छाटकाट थिएन , बिस्तारै तिनी मान्छेहरूले आफ्नो बाटो तय गरे! मलाई कसैसँग बिग्रिनु पनि थिएन र कसैलाई अँगाल्नु पनि थिएन पद अनुसारको जिम्मेवारी भएको कारण कामको लागि मात्रै कुरा हुन्थ्यो अहिलेको समयमा ज्ञान बाँड्नु भनेको आफै मूर्ख हुनु हो भन्ने कुरा मलाई अवगत छ। कारण मैले कसैलाई म यो हुँ म फलानो मेरो परिचय हो भनेर चिनाउन जरुरी पनि ठानिन र चिनाउन पनि चाहिन।

अब मुख्य प्रसङ्ग सरसफाई युटिलिटीको काम गर्ने यहाँ चारजना दिदीबैनीहरू हुनुहुन्थ्यो! मान्छेले मान्छेको अनुहार हेरेर मूल्याङ्कन गर्ने चलन गोवामा पनि रहेछ हुन त हामी नेपालीहरू जहाँ भएपनि हामीहरुको विवेक त्यहीसम्मको हो भन्ने कुरा पनि लाग्छ मलाई, तालु खुइलिएको टाउकोमा रौँ खासै थिएनन् मेरा र जुँगा दाह्री लटरम्म पालेको थिएँ मैले।

त्यही अनुसार पनि मान्छेले मलाई दलित भन्न भ्याएछन्। के दाह्री राख्दैमा कपालमा र अनुहार नराम्रो हुनुमा दलित भइन्छ भन्ने कस्तो प्रकार को सोच हो ? परिचयको क्रममा मैले आफ्नो नाम सूर्य थापा भनिरहे फेरि पनि एउटा दिदीले मलाई तपाईं कसमा हुनुभयो भनेर सोध्नुभयो मैले भने म यहाँ म्यानेजरको रुपमा काम गरे पनि गाउँमा मेरो हातको पानी चल्दैन अब के गर्नु समयले यस्तै बनायो भनेर त्यत्ति के भन्न पाएको थिएँ ।

त्यो कुरा यहाँको नेपाली कम्युनिटीमा फैलिएछ। अब असली अपमानको सुरु त त्यसको भोलिपल्टबाट हुन थाल्यो। मैले केही काम भनेको खण्डमा पनि काम गर्ने नेपाली दिदीबहिनीहरूले झर्केर बोल्ने अनि चाहिँ नाणा गच्चाउने देखेर मैले एकदिन सोधे, तपाईँहरूको खास समस्या चाहिँ के हो ?तपाईंहरुलाई समयमा तलब मिलेको छैन कि ?तपाईहरुलाई कसैले बढी काम गराएको छ कि ?कसैले थिचोमिचो गरेछ कि कसैले हिंसा गरेको छ कि?

भनेर सोध्दा एउटा दिदीले मुख खोलिन् हामी त गाउँमा तल्लो जातको दलितले छोएको पानी समेत चलाउँदैन यहाँ त काम अराएको समेत गर्नुपरेको छ। पैसाको जरुरत भएर मात्रै यो नत्र हामी दलितको मुख लाग्दैनौं जीवनमा पहिलोचोटि १२० भोल्टको झट्का लाग्यो म स्वयं हिजो चेत बसिसकेपछि जातीय विभेद विरुद्ध कलम चलाउने मान्छे एकहोरो भए घरि टोलाउँथे घरि सुन्थे ।

उनीहरुलाई म माथिल्लो जातको हुँ भनेर चिनाउनु पनि थिएन, बिचरा दिदीबैनीहरु आफ्नो चुलोचौको र आफ्नो घर केटाकेटीसँग छोड्न बाध्य भएर गोवाको ठाउँमा काम गरिरहेका छन् काम सानो ठूलो कहिल्यै हुँदैन र हुनु पनि हुँदैन ।

अर्काको ठाउँमा यति संघर्ष गरिरहेका दिदीबहिनीहरूले पनि जातीय विभेद कसरी गर्न सकेका यो प्रश्नले मलाई एक महिना जति पिरली रह्यो समय बित्दै गयो अनि मैले तिमी दिदीबहिनीहरूलाई एकदिन राम्रोसँग ज्ञान पनि बाँडे। तर दिमागमा गुम्सेर बसेको विभेदको जरो म त के स्वयं इन्द्रका बाउ चन्द्रे आए पनि सक्ने थिएनन् भन्ने कुरा को पनि अवगत भयो मलाई!

जति व्यस्त भएपनि जति ठूलो या सानो पदमा भएपनि नेपालीहरूले राजनीति गर्ने संघसंस्था खोल्ने र जातीय विभेद गर्ने समय कहि न कहिबाट जुगाड गरिहाल्छ भन्ने कुराको ज्ञान भयो मलाई! मलाई अनुहारको कारणले दलित भनेर व्यवहार गरियो प्रश्नहरू तेर्स्याइयो।

एकपटक सूर्यबहादुर थापा भनेर परिचय दिँदा पनि बारबार तिनी दिदीहरुले कसमा हुनुभयो कसमा हुनुभयो भनेर सोध्दा त्यति हैरान भए भने वास्तविक दलितहरुलाई हाम्रो समाजमा कति थिचोमिचो होला ।

तपाईं हामी कल्पना गरौं त एकचोटी! तिनै दिदीबहिनीमध्ये कतिपय दिदीबहिनीहरू त अहिले लजाउँछन् हाम्रो आँखा खोलिदिनुभयो हामी विभेद गर्दैनम भनेर लजाउँछन् तर पनि कताकता मेरो मनमा मान्छेहरूको सोच देखेर साह्रै दया लाग्छ!

(दैलेख भैरवी गाउँपालिका १ स्थायी ठेगाना भएका लेखक काजी प्रवासी लामाे समयदेखि भारतमा छन्, उनले लेखेका विचार उनकै सर्वाधिकार हुन् ।)

तपाईको प्रतिक्रिया